२९ आश्विन २०८३, बिहीबार

अब प्रधानमन्त्री देउवानै हुन् कस्ले बिगारियो खेल ?

एसीपी संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार ०२:३२ मा प्रकाशित

 संसद् सचिवालयमा बिहीवार नेकपाका २ पक्षका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र घनश्याम भुसालबीच संवाद चल्यो ।

निर्वाचन आयोगले निर्णय नगरिदिँदा विभाजनको औपचारिक चरणमा प्रवेश नगरिसकेको नेकपा जुटाउने उपाय खोज्दै पोखरेल र भुसालले यसअघि पनि बारम्बार छलफल गरिसकेका छन् ।

भुसाल–पोखरेलको भेटलगत्तै बिहीवारै संसद् सचिवालयमा अर्को दृश्य देखियो – देव गुरुङ सहितका नेताहरुले नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाइएको निवेदन सचिवालयमा दर्ता गराए ।

संसद सचिवालयमा एकैदिन देखिएका यी २ फरक दृश्य नेकपाको दुबै खेमाभित्रको तात्कालिक परिस्थिति हो । दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरु विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरुलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।

प्रचण्ड–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधवारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरुले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’

दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई एकताबद्ध राख्न पर्दा पछाडि गरेको पहल भने देखिएको दृश्यभन्दा अलि फरक छ तर अहिलेसम्म पहलभन्दा अगाडि बढ्न सकेको छैन । बिहीवार बिहान प्रधानमन्त्री ओली, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ र शंकर पोखरेलबीच बालुवाटारमा भलाकुसारी भयो । भेटमा स्थायी कमिटी सदस्य पोखरेलले नेतृत्वको विकल्प खोजेर पार्टीलाई एकताबद्ध बनाउन सकिने प्रस्ताव अर्को पक्षका नेता घनश्याम भुसालले गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।

प्रधानमन्त्री ओलीले आफू त्यसका लागि तयार रहेको भन्दै छलफल अघि बढाउन संकेत गरे । ‘प्रधानमन्त्रीले पोजिटिभ ढंगले प्रस्ताव आएको हो भने ठीक छ भन्नुभएको छ,’ ओलीनिकट स्रोतले भनेको छ, ‘तर उहाँले म यथार्थ थाहा पाउँछु, यो प्रयासले त्यति काम लाग्दैन है पनि भन्नुभएको छ । किनभने एकताबद्ध हुने कुनै उपाय छन् कि भनेर छलफल चलिरहँदा उहाँहरुको नेतृत्वले त कारबाहीको डन्डा चलायो नि !’

यद्यपि प्रधानमन्त्रीले सकारात्मक संकेत गरेपछि स्थायी कमिटी सदस्य पोखरेल र भुसालबीच दिउँसो भेटघाट भएको थियो । संसद सचिवालय सिंहदरबारमा झण्डै ४५ मिनेट चलेको छलफलमा पार्टी एकताका आधारहरुबारे समेत कुराकानी भयो । छलफलमा भुसालले प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम रहेको अध्यक्षमण्डल बनाउने र उनीहरुलाई पालैपालो अध्यक्षता गर्न दिने गरी सहमतिको खाका कोर्ने पहिलो प्रस्ताव गरेका छन् ।

उनले अहिलेको सचिवालय भंग गर्ने, स्थायी कमिटीमा रहेका एक्टिभ सदस्यहरु रहेको सचिवालय बनाउने र सचिवालयले अबको व्यवस्थापकीय मार्गचित्र कोर्ने गरी अघि बढ्ने प्रस्ताव गरेका छन् । ओलीलाई सहमतिमै राजीनामा गराएर सबैलाई मान्य हुने नेकपाभित्रकै नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने विषयमा भुसाल र पोखरेलबीच छलफल चलेको थियो । भुसालको प्रस्तावमा पोखरेलले पनि सहमति जनाएको उनीहरु सम्वद्ध स्रोतको भनाइ छ ।

भुसालले आफूहरु कसरी पार्टी एकताबद्ध हुन्छ भनेर छलफलकै क्रममा रहेको र पार्टी एक हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन् । ‘२ वटा पार्टीको एकता र चुनावमा विजय कम्युनिस्ट पार्टीका लागि ऐतिहासिक उपलब्धि हुन् । यसलाई जोगाउनुपर्थ्यो, पहिलो पुस्ताले यसमा यथेष्ट उपलब्धि हासिल गर्न सकेन । त्यसैले हामी स्वतः लाग्नुपर्थ्यो, लागिरहेका छौं,’ भुसालले भने, ‘सदस्य, समर्थक, शुभचिन्तक कार्यकर्ता लाखौंको संख्यामा एकताबद्ध छन् । त्यसलाई सांगठनिक हिसाबले हामीले बाटो खोलिदिनुपर्नेछ । हामीले त्यही गर्दैछौं ।’

संसद विघटनबारे अदालतको फैसलापछि त्यो जनमत अझ बढेको बताउँदै उनले एकताका विपक्षमा यता वा उता गर्ने नेताभन्दा एकताका पक्षमा रहेका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

ओलीपक्षीय केही सांसदले पनि बिहीवार बिहानै स्थायी कमिटी सदस्य पोखरेललाई भेटेर एकताका पक्षमा पहल गर्न आग्रह गरेका थिए । उनीहरुले पार्टीमा बरु नेतृत्वको विकल्प खोज्न तर कम्युनिस्ट आन्दोलन नै तहसनहस हुने गरी विभाजनको बाटोमा नजान पोखरेललाई सुझाव दिए  । मिडियाडाबलीबाट

‘हामी एकताकै पक्षमा छौं, अहिले सबै भताभुंग गर्दा कम्युनिस्ट आन्दोलनको उपलब्धि सबै गुम्न सक्छ,’ पोखरेललाई भेट्न गएकामध्येका सांसद नवराज सिलवालले भने, ‘हामी मिहिन ढंगले छलफल गरेरै अघि बढ्नुपर्छ । तर आन्दोलनलाई मर्न दिनु हुँदैन भन्ने हाम्रो कुरा हो । बरु विभिन्न विकल्पमा छलफल चलाऔं भनेका छौं ।’

दुबै पक्षका ८० जनाभन्दा बढी सांसद पार्टीको नेतृत्व परिवर्तन गर्ने तर एकताबद्ध भएर अघि बढ्नुपर्ने पक्षमा देखिएको स्रोतको भनाइ छ । तर आफ्नै नेतृत्व एकताभन्दा कांग्रेससँग सहकार्य गर्ने लाइनमा अघि बढेपछि नेतृत्व र नेताहरुका बीचमा तालमेल भइरहेको छैन । स्थायी कमिटी सदस्य जनार्दन शर्माले अहिले पार्टी एकताभन्दा पनि जनप्रतिनिधिले स्वतन्त्र रुपमा मूल्यांकन गरेर निष्पक्ष निचोड निकाल्ने बेला भएको प्रतिक्रिया दिएका छन् ।

‘सांसदहरुको तानातान हुन थालेको र खरिद–बिक्रीसम्मको खेल हुन थालेको कुराले अलिकति प्रभाव पारेको हो,’ उनले भने, ‘मैले जनप्रतिनिधिसँग पनि छलफल गरिरहेको छु, छलफलका आधारमा २–३ दिनभित्रमा पार्टीलाई सुझाव दिन्छु । तर एकताको कुरा शुभेच्छाका रुपमा उठे पनि संवादकै चरणमा भने अघि बढेको छैन ।’

एकताको माहोल बनाउन दौडधुप गरिरहेका भुसाल र शर्माबीच पनि बिहीवार साँझ छलफल चलेको थियो । भुसालले एकताका लागि दोस्रो तहका नेताहरुले नेतृत्व लिनुपर्ने बताएका थिए । उनीहरुको ब्रिफिङ सुनेका अर्का एक नेताका अनुसार जवाफमा शर्माले सुरूमा नेतृत्वका राय बुझ्नुपर्ने धारणा राखेका थिए ।

अध्यक्ष प्रचण्ड र नेपाल अहिले अर्को समूहसँग एकता गरेर अघि बढ्नेभन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने र ओलीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउनुपर्ने पक्षमा रहेका छन् । प्रचण्ड–नेपालसँगको संवाद सकारात्मक रुपमा अघि बढेपछि सभापति देउवाले आफ्नो पार्टीको पदाधिकारी बैठकमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रस्ताव पनि गरेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेलको असहमतिपछि प्रस्तावमा निर्णय भइसकेको छैन ।

नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव ल्याइहाल्यो भने नेकपाको प्रचण्ड–नेपाल पक्ष उसैलाई सहयोग गर्न अघि सरिहाल्छ, एकताको कुरा लगभग सकिन्छ । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि छिन्नभिन्न बनेको नेकपा बचाउनका लागि भन्दै दोस्रो पुस्ताका नेताहरुबीच बारम्बार छलफल चलेको थियो ।

पोखरेल, भुसाल, वर्षमान पुन, योगेश भट्टराई लगायतले धेरै पटक कुराकानी गरेका भए पनि उपाय पहिल्याउन भने सकेनन् । प्रतिनिधिसभा पुनर्स्थापित भएपछि फेरि उनीहरुबीच संवाद सुरू भएको हो, त्यसको नेतृत्व भुसालले नै गरेका छन् । यसबीचमा उनले दुबै पक्षका सांसद, एकताको पक्षमै रहेका नेता बामदेव गौतम र पार्टीका शीर्ष नेताहरुसँग पटक–पटक छलफल गरिसकेका छन् ।

भुसाल र स्थायी कमिटी सदस्य सुवास नेम्बाङबीच धेरै पटक भलाकुसारी भएको छ । नेम्बाङले पार्टी एकताका पक्षमा सकारात्मक पहल भए पनि त्यसको निचोड ननिस्किएको बताएका छन् । ‘एकातिर सकारात्मक प्रयास पनि छन्, त्यसलाई भत्काउनेहरु पनि छन्, सकेसम्म एकता जोगाउनुपर्छ भनेरै हामीले छलफल गरेका हौं,’ नेम्बाङले भने, ‘छलफल गर्दा यसो हुन्छ कि त्यसो हुन्छ कि भनेर विभिन्न विकल्पमा कुराकानी चलेको छ तर निचोडमा पुगेका छैनौं ।’

चिनियाँ पक्षले समेत नेकपा एकीकरणका लागि पहल गरेको थियो । गत हप्ता दुबै पक्षलाई एकै ठाउँमा राखेर संवाद गर्ने तयारी समेत चिनियाँ पक्षको थियो । छलफलका लागि ओली पक्षबाट ईश्वर पोखरेल सहितका नेता र प्रचण्ड–नेपाल पक्षबाट योगेश भट्टराई सहितका नेताहरूलाई बोलाइएको पनि थियो । तर ओलीले आफ्नो पक्षमा बहुमत सांसद रहेको आकलन गरेसँगै संवाद अघि नबढाउन नेताहरूलाई भनेपछि त्यतिखेर एकताका लागि संवाद र पहल गर्ने कुरा रोकिएको थियो । तर बिहीवारदेखि यो प्रसंग फेरि उप्किएको हो । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x