२८ आश्विन २०८३, बुधबार

शेर बहादुर देउवा सङ प्रचण्ड निरन्तर भेट;देउवालाई ठोस निर्णय लिन आग्रह

एसीपी संवाददाता

१८ चैत्र २०७७, बुधबार ०९:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटे।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुगेपछि र सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले देउवालाई सत्ता साझेदारीका लागि बेला-बेलामा भेटिरहेका छन्।
मंगलबार भएको बुढानिकलकण्ठमा देउवासँग झन्डै २० मिनेट भएको कुराकानीमा प्रचण्डले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन लागेको उल्लेख गर्दै देउवालाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेका थिए।
देउवानिकट एक नेताका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई अब धेरै समय समर्थन दिन नसकिने बताए।
ओलीलाई धेरै समय समर्थन दिन सकिँदैन, सरकारको नेतृत्व लिन अब तपाईं तयार हुनुपर्‍यो भन्ने प्रचण्डको भनाइ रह्यो,’ ती नेताले भने, ‘हाम्रो गठबन्धनमा नयाँ सरकार बनाएर जानुपर्छ।’
देउवाले समय अझै परिपक्व भइनसकेको पुरानै कुरा दोहोर्‍याएका थिए। रेशम चौधरीबारे थारू कल्याणकारी सभासँग सरकारले वार्ता गरिरहेको र यो माग जसपाले पनि प्रधानमन्त्री ओलीसँग राखेकोले अहिले नै केही गरिहाल्ने समय नभएको देउवाको भनाइ थियो।
‘जसपाका मागमा प्रधानमन्त्री ओलीले चासो दिइरहेका छन्। वार्ता भइरहेको छ। कुरा मिल्यो भने जसपाले नै ओलीलाई साथ दिन सक्छ भन्नेमा सभापतिजी हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘हामीले हतार गर्ने तर जसपा एमालेतिर मिल्यो भने फेरि कच्चा खेलमा फसिन्छ। त्यसो नगरौं। ’
प्रचण्डले कर्णाली र सुदुरपश्चिमका मुख्यमन्त्रीहरू हटाउने खेल चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई धेरै समय समर्थन दिन नसक्ने बताएको स्रोतको दाबी छ।
यसबारे प्रचण्डनिकट एक शीर्ष नेताले सेतोपाटीसँगको कुराकानीमा ओलीलाई दिइएको समर्थन फिर्ता लिइने बताए।
‘ओलीलाई दिएको समर्थन छिट्टै फिर्ता लिनुपर्छ भन्नेमा हामी छौं,’ उनले भने, ‘तर विकल्पविना फिर्ता लिँदा राजनीति थप अस्थिर बाटोमा जान्छ कि भनेर केही समय पर्खेका छौं।’
उनले कांग्रेस नयाँ सरकारको नेतृत्व लिनेमा सकरात्मक देखिएको बताए। ‘कांग्रेसले सरकारलाई नेतृत्व दिन्छ। यसबारे ऊ सकरात्मक नै देखिएको छ,’ ती नेता भन्छन्, ‘सधैँ ओलीलाई यसैगरी समर्थन गर्न सकिँदैन भन्नेमा हामी प्रष्ट छौं।’
कांग्रेस सभापति देउवाले बहुमत पुग्दैन कि भन्ने चिन्ता गरेकोले नयाँ सरकार गठन गर्न ढिलाइ भइरहेको उनको भनाइ छ। ‘कांग्रेस, जसपा र माओवादी केन्द्र भए सरकार बन्छ,’ उनले भने, ‘ओलीले प्रतिगमन गरेकोले उनलाई जसपाले साथ दिँदैन भन्नेमा हामी छौं।’
संसदमा एमालेका १२१ सांसद छन्। जसपाका ३२ सांसद छन्, दुई जना निलम्बनमा छन्। कांग्रेसका ६३ मध्ये अहिले ६१ सांसद छन्, दुई जना निलम्बनमा छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एक महिनाभित्र प्रधानमन्त्री ओलीले संसदमा बहुमत देखाउनुपर्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x