चिनियाँ टेक जाइन्ट हुवावेमाथिको प्रतिबन्ध
पेरिस । चिनियाँ टेक जाइन्ट हुवावेमाथिको प्रतिबन्ध लगाउने क्रम बढ्दै गएको छ ।
अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुकहरुले हुवावेमाथि प्रतिबन्ध लगाउने क्रम सुरु भएकोमा पछिल्लो फ्रान्समा पनि हुवावे माथिको प्रतिबन्ध सुरु भएको छ ।
एटिस युरोप एनभीको एसएफआर युनिट र बोइग्यूज टेलिकम लगायतका फोन कम्पनीहरूले हुवावे टेक्नोलोजी कम्पनीको वायरलेस उपकरणहरू फ्रान्सेली सहरहरूबाट हटाउन थालेका हुने ।
सरकारले चिनियाँ प्रविधिमुक्त मुलुक बनाउने अभियान सञ्चालन गरेसँगै पहिलो चरणमा सहरी क्षेत्रबाट हुवावे हटाउन लागिएको बताइएको छ । फ्रान्सको संवैधानिक परिषदले हुवावेलाई हटाउने निर्णयमा हस्ताक्षर गरेको थियो । जसअनुसार हवावेलाई हाल घना जनसंख्या भएको क्षेत्रबाट हटाउने क्रम सुरु भएको बताइएको छ ।
पाँचौं पुस्ताको वायरलेस टेक्नोलोजीमा स्तरवृद्धि गरिने क्रममा हुवावेलाई हटाइएको हो । हुवावेले आफ्ना उपकरणमार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाएको थियो ।
जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिकासहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाउने क्रम सुरु भएको हो ।
हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ । उक्त मुद्दा दर्तासँगै चिनीया कम्पनी हुवावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ ।
उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ-जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको संकेत पनि दिएको छ । हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामसुङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ । चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनीया कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो ।
संयुक्तराज्य अमेरिकाले हुवावेका उपकरणहरु अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिष्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ । अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अरु देशलाई पनि आह्वान गरेको छ । नेपालपाना


