२८ श्रावण २०८३, बिहीबार

चीनले थोरै किन दियो अक्सिजन सिलिण्डर ? एक पटक उडान गर्दा २ करोड बढी खर्च

एसीपी संवाददाता

१ जेष्ठ २०७८, शनिबार ०६:४४ मा प्रकाशित

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले २८ वैशाखमा चीनको राजधानी बेइजिङबाट ४०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्यायो ।

जहाजमा १६० अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर गरी कुल २६ टन मात्र सामान नेपाल आयो । वाइडबडी जहाजको क्षमता ३५ टनसम्म कार्गो बोक्न सक्ने हो । तर, किन क्षमता भन्दा कम सामान नेपाल आयो ?

नेपाल वायुसेवा निगमका महाप्रवन्धक डीमप्रकाश पौडेलका अनुसार नेपालमा अस्पतालहरुमा अक्सिजनको हाहाकार भई अकालमा ज्यान गुमाइरहनु परेको अवस्थामा तत्काल सिलिण्डर ल्याउनुपर्ने चुनौती थियो । तर, चीनमा सिलिण्डरको उत्पादन नै भएको थिएन । अहिले चीनले अनुदानमा दिएका यी सिलिण्डर उद्योगबाट सीधै ल्याइएको हो । उद्योगले दैनिक ४०० सिलिण्डर मात्र डेलिभरी गर्न सक्ने जानकारी गराएको छ । सोही कारण पहिलो उडानमा क्षमता अनुसार सिलिण्डर नआएको महाप्रवन्धक पौडेलले जानकारी दिए ।

सिलिण्डर मात्र बोक्दा वाइडबडी जहाजले एकै पटकमा साढे ७०० हाराहारी बोक्न सक्ने देखिएको उनले जानकारी दिए । तर, सिलिण्डर नै तयार नभएका कारण जति सिलिण्डर तयार थियो त्यति नै ल्याएर आएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चीनबाट २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा प्राप्त हुँदैछ । यी सिलिण्डर सबै नेपाल आइपुग्दा ठूलो राहत हुने अनुमान छ ।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार बेइजिङमा नेपालले पाउने सिलिण्डरको दोस्रो खेप तयार भएको छ । दूतावासले केही दिनमै यी सिलण्डिर काठमाडौं आउने बताएको छ । यद्यपि यो खेपमा कति सिलिण्डर तयार भएको छ भन्ने संख्या भने खुलेको छैन ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेलका अनुसार जहाज जाँदै छ । यो जहाजले कम्तीमा ४०० थान सिलिण्डर, ४०० थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

उनका अनुसार अब हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने जानकारी उद्योगले दिएको छ । सोही आधारमा सिलिण्डरको डेलिभरी हुनेछ ।

एक उडानको सवा २ करोड भाडा

नेपालको राजधानी काठमाडौंबाट चीनको राजधानी बेइजिङ पुगेर कार्गोसहित काठमाडौं अवतरण हुँदा नेपाल वायुसेवा निगमले एक उडानको सवा २ करोड भाडा तय गरेको छ । ‘एकतर्फी करीब साढे ७ घण्टा निरन्तर उड्नुपर्ने यो रुटमा कम्पनीले लागतमात्र उठ्ने गरी न्यूनतम भाडा तय गरेको बताएको छ ।

सोहीकारण हरेक उडानबाट अधिकतम क्षमतामा सिलिण्डर ल्याउन सकियोस् भन्ने प्रयास गरेको उनले बताए । अघिल्लो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य खटिएका थिए ।

यूरोप, अमेरिकामा बस्ने नेपालीबाट सिलिण्डिर पठाउन जहाजको माग

नेपाल एयरलाइन्सको जहाज शनिबार ओमानको राजधानी मस्कट जाँदैछ । यो जहाजले ६०० थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याउने छ । यी सिलिण्डर गैरआवासीय नेपाली संघ र नेपाली दूतावासको सहयोगमा नेपाल ल्याउन लागिएको हो ।

पौडेलका अनुसार गैरआवासीय नेपालीहरु तथा नेपाली नागरिक रहेका मुलुकहरुमा नेपालीहरुकै पहलमा संकलन गरी सिलिण्डर नेपाल पठाउन जहाजको उच्च माग आएको छ । तर, यस्तो माग अमेरिका, यूरोप, अष्ट्रेलियाजस्तो मुलुकबाट बढी रहेको छ ।

७० किलो बराबरको एक सिलिण्डरलाई टाढाको गन्तब्यबाट जहाजमा नेपाल ल्याइपुर्याउन खर्चिलो हुने भन्दै उनले विदेशमा दुःख गरी कमाएको रकम ढुवानीमै बढी खर्च हुने उल्लेख गरेका छन् । सोहीकारण अक्सिजन सिलिण्डरभन्दा सम्भव भए अक्सिजन जेनेरेटर नेपाल पठाउन पहल गर्न उनले नेपाली समुदायसँग आह्वान गरेका छन् अनलाइनखबर बाट साभार ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x