२८ आश्विन २०८३, बुधबार

अमेरीकाले घनिष्ठ मित्रराष्ट्रलाई एकताबद्ध गरी चीनलाई घेर्ने

एसीपी संवाददाता

२ असार २०७८, बुधबार ०५:०१ मा प्रकाशित

बाइडेनले आफ्ना घनिष्ठ मित्रराष्ट्रलाई एकताबद्ध गरेर चीनलाई घेराबन्दीको प्रयास गरे पनि उसको उदयलाई नियन्त्रण गर्न सजिलो हुनेछैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना घनिष्ठ मित्रराष्ट्रलाई एकताबद्ध गरेर चीनलाई घेराबन्दी गर्ने प्रयासमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । तर, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको उदयलाई नियन्त्रण गर्न त्यति सजिलो भने हुनेछैन । अमेरिकाले जी–७ को बैठकमा अन्य सदस्य मुलुक बेलायत, जर्मनी, फ्रान्स, इटली र क्यानडासँग मिलेर यो साता चीनविरुद्ध पछिल्लो समयको सबैभन्दा कडा वक्तव्य जारी गर्‍यो । 

वक्तव्यमा चीनको मानवअधिकारविरुद्धका कार्य, सिन्जियान क्षेत्रका नियन्त्रित श्रमिकदेखि हङकङ, ताइवान तथा साउथ चाइना सी क्षेत्रमा जारी राजनीतिक विवादलाई लिएर चीनको आलोचना गरिएको छ । अमेरिकाले आफ्ना मित्रराष्ट्रसँग मिलेर राष्ट्रपति सी जिनपिनको महत्वाकांक्षी परियोजना बेल्ड एन्ड रोड इनिसियटिभ (बिआरआई) को विकल्प ल्याउने भएको छ । व्यापारिक, प्राविधिक र भूराजनीतिक मुद्दामा सबैभन्दा ठूलो चुनौतीका रूपमा उदाइरहेको चीनविरुद्ध अमेरिकाले विगत चार–पाँच वर्षदेखि कडा व्यवहार गर्न थालेको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नीतिगत रूपमै चीनविरुद्ध कठोर कदम चाल्न थालेका थिए । उनले आफ्नो चारवर्षे कार्यकालमा चीन र उसका केही महत्वपूर्ण उद्योगमाथि विभिन्न प्रतिबन्धात्मक कदम उठाए । तर, ट्रम्प चीनविरुद्ध अहिलेजस्तो मित्रराष्ट्रलाई लिएर एकताबद्ध रूपमा अघि बढेनन् । बरु उनले आफ्ना मित्रराष्ट्रसँगको सम्बन्धलाई समेत तिक्ततापूर्ण बनाएका थिए । 

जी–७ मुलुकबीच नै चीनसँग कस्तो व्यवहार गर्ने भन्नेमा मतभेद छ । जुन यो साता सम्पन्न जी–७ सम्मेलनमा पनि देखियो । अमेरिका, बेलायत र क्यानडा चीनविरुद्ध कडा कदम चाल्न आह्वान गर्दै थिए, बाँकी त्यसो गर्न हिचकिचाइरहेका थिए ।

जी–७ को घोषणामा उल्लेख भएका विषयलाई कसरी कार्यान्वयन गर्ने भन्ने ठोस आधार भने दिइएको छैन । उदाहरणका लागि समूहले बिआरआईलाई चुनौती दिने  ‘बिल्ड ब्याक बेटर वल्र्ड इनिसिएटिभ’ योजना अघि सारेको छ । अमेरिकी सरकारका वित्तीय समूह, निजी क्षेत्र र जी–७ मुलुकको लगानीमा कार्यान्वयन हुने भनिएको योजनामा कति खर्च लाग्नेछ भन्ने कतै उल्लेख छैन । त्यस्तै चीनले मानवअधिकार र सिन्जियान तथा हङकङको ‘आधारभूत स्वतन्त्रता’को सम्मान गर्नुपर्ने भनिए पनि चीनलाई ती कुरा पालना गराउन के कदम चालिनेछ भन्ने पनि प्रस्ट गरिएको छैन । पश्चिमी मुलुकको आलोचनात्मक वक्तव्यको जवाफमा चीनले ‘जी–७ ले आफूविरुद्ध योजनाबद्ध रूपमा कपोलकल्पित र भ्रामक हल्ला चलाएको’ अरोप लगाएको छ । लन्डनस्थित चिनियाँ दुतावासले वक्तव्यलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य नियमको गम्भीर उल्लंघन’ भनेको छ । पश्चिमी एकताप्रति चीनले चिन्ता लिनुपर्ने केही कारण छन् ।

जस्तो– ट्रम्पले लागू गरेको प्रतिबन्ध चीनको प्राविधिक विकास रोक्न सफल भएको थियो । उदाहरणका लागि अमेरिकी प्रविधिबाट वञ्चित भएपछि हुवावेको व्यवसायमा उल्लेख्य क्षति पुग्योे । बाइडेनले एक कानुनमार्फत कैयौँ चिनियाँ कम्पनीमा अमेरिकी नागरिक तथा व्यवसायीले लगानी गर्न नपाउने व्यवस्था गरेका छन् । त्यस्तै अमेरिकी विधायकले देशमा प्रविधि, विज्ञान तथा अनुसन्धानमा अर्बौं डलर खर्च गर्ने विधेयकमा छलफल गरिरहेका छन् । यसले पनि चीनमाथि दबाब पर्नेछ । अमेरिका र चीनको प्रतिद्वन्द्विताको असर अहिले नै व्यापारमा पर्न थालेको छ । कैयौँ पश्चिमी कम्पनीले चीनमा काम रोक्ने दबाब खेपिरहेका छन् । सिन्जियान क्षेत्रका चिनियाँ कम्पनीमा बँधुवा मजदुर प्रयोग भएको भन्दै पश्चिममा ती उत्पादन बहिष्कार गर्ने अभियान सुरु भएको छ । त्यस्तै चीन सरकारको सिन्जियान नीतिको विरोध गर्ने पश्चिमी ब्रान्डले चीनमा बहिष्कार खेपेका छन् । 

जी–७ सुरु हुनुअघि चीनले विदेशी प्रतिबन्धको प्रतिरोध गर्ने एक कानुन पास गर्‍यो । उक्त कानुन पश्चिमी कदमविरुद्ध चुप लागिनेछैन भन्ने चीनको संकेत थियो । उता जी–७ मुलुकबीच नै चीनको विषयलाई लिएर केही मतभिन्नता छ । जुन मतभिन्नता यो साता सम्पन्न जी–७ सम्मेलनमा पनि देखिएको थियो । अमेरिका, बेलायत र क्यानडा चीनविरुद्ध कडा कदम चाल्न आह्वान गर्दै थिए । तर, युरोपेली मुलुकहरू भने चीनविरुद्ध कडा कदम चाल्न हिचकिचाइरहेका थिए । युरोपेली मुलुकको यो रबैयामा चीनमाथिको तिनको बलियो आर्थिक निर्भरताले काम गरेको छ । सन् २०१० देखि सन् २०१९ सम्म जर्मनीले चिनियाँ प्रत्यक्ष वैदेशिक लगानीका रूपमा २७.५ अर्ब डलर, इटलीले १९.२ अर्ब डलर र फ्रान्सले १७.४ अर्ब डलर हात पारे । पछिल्लो समय चीनसँगको सम्बन्ध तनावपूर्ण हुँदै गएको बेलायतले समेत ६०.९ अर्ब डलरको यस्तो लगानी हासिल गरेको थियो । जर्मनीजस्ता युरोपेली मुलुकका केही उद्योगको विकास चीनसँगको साझेदारीमा निर्भर छ । यसैले चीनको विकासलाई नियन्त्रण गर्ने प्रयास त्यति सहज देखिँदैन । 

(लेखकहरू सिएनएनमा आबद्ध समाचार निर्माता तथा सम्पादक हुन्)
सिएनएनबाट
/ नयाँ पत्रीका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x