२९ आश्विन २०८३, बिहीबार

चिनले नाकाबन्दी गर्दा पस्मिना ब्यापारी मर्कामा

एसीपी संवाददाता

१९ असार २०७८, शनिबार ०३:१२ मा प्रकाशित

जोमसोम: चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको उत्तरी कोरला नाका लामो समयसम्म बन्द रहँदा सीमावर्ती क्षेत्रका स्थानीय उत्पादन पस्मिना निर्यातमा समस्या परेको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लकडाउनकारण डेढ वर्षदेखि कोरला नाका बन्द हुँदा स्थानीयको आन्तरिक व्यापार व्यवसाय प्रभावित बन्दैआएको हो ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश स्थानीय पशुपालक किसानको मुख्य आम्दानी श्रोत पशुपालन व्यवसाय मानिन्छ । उपल्लो मुस्ताङका पशुपालक किसानले विभिन्न प्रयोजनका लागि सदियौंदेखि याकचौरी तथा भेडा-च्याङ्ग्रा पालन गर्दैआएका छन् ।

समुन्द्री सतहदेखि ४२ सय मिटरको उचाइमा अवस्थित यी दुई पालिकामा बर्सेनी एक बाली मात्र खेतीपाती हुने गर्छ । बर्सेनी एक वाली त्यसमाथि सीमित मात्रामा खेतीपाती हुने भएकाले उनीहरुको जिविकोपार्जनको एक मात्र आधार पशुपालन व्यवसाय हो ।

हिउँदयाममा घुम्ती व्यापारका लागि बेसी झर्ने र बर्खायाममा पशुपालनका साथै सामान्य खेतीपाती गरी बस्ने उपल्लो मुस्ताङीको दैनिक दिनचर्या अन्तर्गत पर्दछ ।

उपल्लो मुस्ताङको उत्तरी कोरला नाकाको तिब्बती भूमिमा बर्सेनी असार र भदौ महिनामा दुई मात्र पटक अस्थायी व्यापार मेला लाग्ने गर्छ । अन्य समय कोरला नाका सधैँ बन्द हुन्छ । चीनको तिब्बती भूमिमा सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै चिनियाँ पक्षले यस प्रकारको व्यापार मेला सञ्चालन गर्ने गर्छन् ।

उपल्लो मुस्ताङीले पस्मिना, यार्सागुम्बा र स्थानीय उत्पादन उक्त व्यापार मेलामा निर्यात गर्ने गरेको भए पनि कोरोनाका कारण पस्मिना लगायत ब्यापार ठप्प भएको लोमान्थाङ-४ का पशुपालक किसान नर्बु गुरुङले जानकारी दिए । उनले तिब्बतर्फबाट भेडा-च्यांग्रा, ईलेक्ट्रोनिक उपकरण, कृषि उपकरण, निर्माण सामग्री, पेय पदार्थ लत्ताकपडा, किराना पसलका सामान र तरकारी आदी आयात गर्ने भए पनि लामो समयदेखि सीमा नाका बन्द हुँदा सबै कारोबार ठप्प भएको बताए।

कोरोना कहरका कारण चीनले लामो समयदेखि उपल्लो मुस्ताङको कोरला नाका बन्दा गरिदिँदा सीमावर्ती क्षेत्रका बासिन्दाको आन्तरिक व्यापार व्यवसाय चौपट भएको छ भने बेनी-जोमसोम सडक हुँदै आयात गरिने सामान भन्दा ३५ प्रतिशत महङ्गो मुल्यमा खाद्यान्न लगायत सामाग्री खरिद गर्न उपल्लो मुस्ताङबासी बाध्य भएका छन् ।

कोरोना कहरकै कारण गत वर्षको असार र भदौ महिनामा लाग्ने अन्तरदेशीय व्यापार मेला प्रभावित बनेको लोमान्थाङ-२ छोसेरका मिग्मार छिरिङ बताउँछन् । यसपटक पनि कोरोनाको दोश्रो लहरका कारण उपल्लो मुस्ताङको कोरला नाका चीन पक्षले पूरै सीमा शील गरेको थियो ।

स्थानीय र पशुपालक गोठाला समेतलाई सीमावर्ती क्षेत्रको आसपास आउन समेत चीनले प्रतिबन्द लगाएको थियो । कोरोनाकै कारण ब्यापार मेला रोकिएपछि उपल्लो मुस्ताङवासीले गत वर्ष पस्मिना, भेडा-च्यांग्रा खरिददेखि अन्य आवश्यक सामाग्री खरिद गर्न नपाएको उनले सुनाए ।

यसपटक पनि कोरोनाको दोश्रो लहरका कारण कोरला नाकाको तिब्बती भूमिमा ब्यापार मेला सञ्चालन नहुने प्रायः निश्चित जस्तै भएको छ ।

छोसेरका स्थानीय कर्मा वाङ्गेल गुरुङका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा हरेक वर्ष झन्डै १० ट्रकको हाराहारीमा पस्मिना उत्पादन हुने गर्छ । उपल्लो मुस्ताङीहरु यतिबेला च्यांग्रा र याक चौरीको पस्मिना काट्न व्यस्त छन् ।

तर, उत्पादन गरेको पस्मिना निर्यात गर्ने ठाउँ नहुँदा पशुपालक किसान चिन्तित रहेको गुनासो गर्छन् । पस्मिनाको उपयोग उपकरणबाट प्रशोधन गरी धागो निकालेर विभिन्न घरेलु लत्ताकपडा तयार गरिन्छ । स्थानीय वाङ्गेलले भने “कोरोना कहर अघि ब्यापार मेला हुँदा १ केजी पस्मिनाको ७ हजारसम्म पर्थ्यो, गत वर्ष केजीको २ हजार मुल्यमा पनि बिक्री हुन समेत मुस्किल भयो । यस वर्ष पनि अवस्था त्यही छ,राज्यले क्षतिपूर्ति दिँदैन ।” उनले तिब्बतमा पस्मिना बेचेर नगद भित्र्याउने अवसर पनि कोरोनाले गुमेको गुनासो गरे । साथै लामो समयदेखि तिब्बतबाट भेडा-च्यांग्रा ल्याउन समेत नपाएको उनी बताउँछन् ।

उपल्लो मुस्ताङीले मेहनत र दुख गरी उत्पादन गरेको पस्मिना बिक्री गर्ने ठाउँ नहुँदा स्थानीयको आन्तरिक ब्यापार गुमेको हो । उपल्लो मुस्ताङीले तिब्बतबाट भेडा-च्यांग्राका पाठापाठी ल्याइ हुर्काएर उमेर पुगेपछि मासुका लागि बिक्री गर्ने चलन थियो ।

तर नाका बन्द हुँदा पशुपालन व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ । मुस्ताङको उत्तरी कोरला नाकामा चीन पक्षले कोरोनाका कारण विगत भन्दा कडा निगरानी गरिरहेको छ । चीन पक्षले आफ्ना नागरिकलाई सीमा नाकातर्फ जान र नेपालतर्फका सीमावर्ती बासिन्दालाई कोरला आसपास आउन कडाइ गरेको छ ।

यता, नेपाल पक्षले पनि कोरला नाकाको ब्यापार मेला सञ्चालनमा यस वर्ष पनि रोक लगाउने जनाएको छ । चीनको तिब्बती भूमिमा यसअघि हरेक वर्षमा दुई पटक सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गरी ब्यापार मेला सञ्चालन हुने गर्छन् । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x