नेकपा माओवादी केन्द्र खारेजीको अवस्थामा
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र खारेजीको अवस्थामा पुगेको छ । संविधानले तोकेको अधिकतम समय साढे ५ वर्ष सम्म पनि महाधिवेशन गर्न नसकेकाले पार्टी खारेज हुने निश्चित भएको छ ।
संवैधानिक प्रावधानअनुसार माओवादी केन्द्रले वैधानिकता गुमाइसकेकाले त्यसले गरेको कारवाही पनि अवैध हुन् भन्दै विद्रोही नेताहरु निर्वाचन आयोग पुगेका छन् । सर्वोच्च अदालत जाने तयारीमा छन् ।
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका लिलाबहादुर थापा, रामचन्द्र मण्डल, टेबहादुर बलमपाखी, दधिराम न्यौपाने, टंक आङबुहाङ लगायतका नेताहरु बुधवार आयोग पुगेर माओवादी केन्द्र असंवैधानिक रुपमा चलेको पार्टीले कारवाही गर्न नसक्ने भन्दै निवेदन दिएका छन् ।
कसरी हुन्छ माओवादी खारेज ?
माओवादी केन्द्रको पछिल्लो महाधिवेशन ०६९ असार १९-२४ सम्म हेटौंडामा भएको थियो । यसको वैधता संविधानले तोकेको साढे ५ वर्षको अवधि २०७४ पुस २३ मा सकिएको छ । एमालेसँग एकता भने २०७५ साल जेठमा भएको थियो । अर्थात वैधता गुमाएको ५ महिनापछि एमालेसँग एकता गरेको थियो । एकताको समयलाई सर्वोच्च अदालतले शून्य मानिसकेको छ । शून्य माने पनि माओवादी पार्टी अब कानुनी रुपमा अस्तित्वमा रहनेछैन । संवैधानिक रुपमा साढे ५ वर्ष भन्दा पर महाधिवेशन सार्न पाइन्न। माओवादीले एकीकरण अगावै ५.५ वर्षको संवैधानिक अवधी गुजारिसकेकाले पार्टीकै अस्तित्व समाप्त भइसकेको छ । अब यसमा निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी छ ।
ठूला नेता सर्वोच्चको फैसलापछि जाने
यता एमाले प्रवेश गरेका पूर्व माओवादीका प्रभावशाली नेताहरु माओवादी केन्द्र खारेजीका लागि असार २८ गते आउने सर्वोच्चको फैसलापछि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।
महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन लागेका हुन् । माओवादी त्यागेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतले निवेदन बुझाउने तयारी गरेका छन् ।


