१६ चैत्र २०८०, शुक्रबार

सीमा नाकामा भारतीय सवारी आवागमन निषेध , भारतीय पाहुना आउन पाएका छैनन्,ब्यापार कसरी हुने ?

एसीपी संवाददाता

३० भाद्र २०७८, बुधबार १६:४३ मा प्रकाशित

३० गते भदौ २०७८ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको उत्तरतर्फ होटल ज्योति प्यालेस छ । कोरोना महामारीअघि होटलका ९ वटा कोठा पूरै बुकिङ हुन्थे । कर्मचारी पाहुनाको सेवामा व्यस्त रहन्थे । अहिले बढीमा ४ वटा कोठासम्म भाडामा लाग्छ ।

होटलमा कार्यरत ७ जना कर्मचारीको तलब लगायत सञ्चालन खर्च मात्रै मासिक १ लाख भन्दा बढी छ । होटलको घर भाडा छुट्टै तिर्नुपर्छ । परिस्थिति अनुकूल नहुँदा होटल सञ्चालन गर्न निकै कठिनाइ भइरहेको होटलका सञ्चालक हिरा श्रेष्ठ बताउँछन् । ‘एक दिन त राम्रो दिन आउँछ भनेर पर्खेर बसेका छौं,’ उनी भन्छन् ।

वीरगञ्ज लिंक रोडस्थित होटल कुमु प्यालेस पनि व्यस्त होटलको रुपमा परिचित थियो । विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले आयोजना गर्ने तालिम गोष्ठीका भीडभाड होटलमा देखिन्थ्यो । विवाह, ब्रतबन्ध समारोहहरु पनि भइरहन्थे ।

सँधैजसो भीडभाड रहने कुमु प्यालेस पछिल्ला दिनमा सुनसान जस्तै छ । होटलका १८ वटा कोठामध्ये मुस्किलले ५ वटासम्म भाडामा लाग्ने गरेको छ । २०÷२५ जना कर्मचारीलाई भ्याइनभ्याइ काम हुने होटलमा कार्यरत १० जना कर्मचारीलाई तलब खुवाउन मुस्किल रहेको सञ्चालक बताउँछन् ।

वीरगञ्ज नाकाबाट आवतजावत गर्दै सर्वसाधारण
सीमा नाकामा आवागमन सहज नगरिदिने हो भने व्यवसाय चलाउनै नसक्ने अवस्थामा पुग्ने कुमु प्यालेसका सञ्चालक कुबेर कार्की बताउँछन् ।

‘वीरगञ्ज पर्यटकीय भन्दा पनि व्यापारिक क्षेत्र हो । सीमा नाकामा भारतीय सवारी आवागमन निषेध छ, भारतीय पाहुना आउन पाएका छैनन्,’ उनले भने, ‘कोरोना महामारीले गर्दा पहाडतिरबाट किनमेलका लागि रक्सौल जानेहरु पनि आउन जान कम भएको छ । फर्कन ढिला हुँदा उनीहरु एक दिन भए पनि बस्थे ।

व्यवसायीले भारतीय निजी सवारीसाधन आवागमन तत्काल खोल्न माग गर्दै आएका छन् । भारतीय निजी गाडी आउन नदिएपछि स्थलमार्गबाट आउने भारतीय पाहुनाको आगमन ठप्प भएको व्यवसायीको भनाइ छ ।
दशैंअघि नाका खुलेको खण्डमा दिल्ली, मुम्बई, कलकत्ता लगायत विभिन्न भारतीय शहरमा कामका लागि गएका नेपाली फर्केर आउँदा एक दिन भए पनि बास बस्ने अपेक्षा उनको छ ।

व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत लगायत नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् ।

मान्छे आउन छुट, गाडी आउन रोक

वीरगञ्ज–रक्सौल नाकामा सर्वसाधारणको आवागमन निर्वाध रूपमा भइरहेको छ । तर निजी सवारीसाधनको आवागमनमा भने रोक लगाइएको छ । जसले गर्दा टाढा–टाढाबाट नेपाल आउने भारतीय पाहुना आउन सकेका छैनन् ।

वीरगञ्जमा खासै कोरोना संक्रमण देखिएको छैन । निषेधाज्ञा नाम मात्रको छ । विद्यालयमा भौतिक उपस्थितिमै पढाइ भइरहेको छ । फिल्म हल समेत खुल्न थालिसकेका छन् । अन्य बजार, व्यवसाय विस्तारै सामान्य लयमा फर्किँदैछन् ।

सीमावर्ती क्षेत्रका होटल व्यवसाय भारतीय पाहुनामा आधारित रहेकाले नाका सहज नहुँदा व्यवसाय नराम्ररी प्रभावित बनेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त बताउँछन् । ‘कुनै रोकटोक विना नै सर्वसाधारण पैदल ओहोरदोहोर गरिरहेका छन्, रोटीबेटीको सम्बन्ध पनि कायम छ । गाडी मात्रै रोकिएको छ,’ उनले भने, ‘पैदल आउँदा कोरोना नआउने, गाडीमा आउँदा कोरोना आउने ? सरकारको कस्तो नियम हो यो बुझ्न सकेको छैन । राज्यको अदूरदर्शी नीतिका कारण होटल बन्द गरेर पलायन हुनुपर्ने स्थिति आइसकेको छ ।’

भारतीय निजी सवारी आउन दिन माग

व्यवसायीले भारतीय निजी सवारीसाधन आवागमन तत्काल खोल्न माग गर्दै आएका छन् । भारतीय निजी गाडी आउन नदिएपछि स्थलमार्गबाट आउने भारतीय पाहुनाको आगमन ठप्प भएको व्यवसायीको भनाइ छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ११ मा सरकारले पहिलोपटक लकडाउन आव्हान ग¥यो । त्यसपछि दुवै देशका सरकारले नाका बन्द गरे । त्यतिबेलैदेखि भारतीय निजी गाडीको आवागमन रोकिएकोमा अझै खुल्न सकेको छैन ।

सामान्य अवस्थामा जस्तै तर स्वास्थ्य सुरक्षाका मापदण्ड पलना गरेर भारतीय गाडी आवागमनको व्यवस्था मिलाउनुपर्ने माग व्यवसायीको छ ।

निषेधाज्ञाको समयमा सुनसान बनेको वीरगञ्ज घण्टाघर क्षेत्र
मापदण्ड एकातिर व्यवहार अर्कोतिर

कोरोना महामारी नियन्त्रणका लागि सरकारले लिएको नीतिलाई मान्ने हो भने नाकामा सर्वसाधारण सहजै ओहोरदोहोर गर्न नपाउनुपर्ने हो ।

अत्यावश्यक अवस्थामा नेपाली नागरिक बाहेकलाई आवागमनको अनुमति छैन । आवागमनका क्रममा सीमा नाकामा स्वास्थ्य चेकजाँचको प्रक्रिया पूरा गर्नुपर्ने नियम छ । तर सीमा नाकामा दोहोरो पैदल आवागमनमा कुनै प्रकारको रोकावट देखिँदैन ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो पटक भदौ १७ गते जारी गरेको सूचनामा वीरगञ्ज नाकाबाट विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको उल्लेख छ । नेपाल प्रवेश गर्ने नेपाली नागरिकले पनि तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पूरा गरी स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने भनिएको छ । त्यस्तै वीरगञ्जको ईनर्वा बाहेक भारतबाट जिल्ला प्रवेश गर्ने नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको उल्लेख छ ।

तर प्रशासनले सीमा नाकाबाट भइरहेको सर्वसाधारणको आवागमन रोक्न सकेको छैन । सर्वसाधारण पैदल हिँडेर सीमाना वारपार गरिरहेको देखिन्छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे नाकाको विषयमा सरकारको अर्को निर्णय नआउँदासम्म केही गर्न नसक्ने बताउँछन् ।

‘नेपाल सरकारको निर्णयले नाकामा आवागमन स्थगित गरिएको हो । नेपाली नागरिकलाई प्रक्रिया पूरा गरेर आउन जान दिएका छौं । भारतीय निजी गाडी आउजाउ गर्न अर्को निर्णय नआउँदासम्म रोक नै छ,’ उनले भने । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x