४ आश्विन २०८३, आईतवार

भारतीय सेनाको गोर्खा राइफल्सलाई विश्व प्रसिद्ध क्याम्ब्रियन प्रतिष्पर्धामा स्वर्णपदक

एसीपी संवाददाता

३ कार्तिक २०७८, बुधबार ०१:३९ मा प्रकाशित

३ गते कार्तिक २०७८ । नेपाली नागरिकहरु र नेपाली मुलका भारतीय नागरिक भर्ती भएको भारतीय सेनाको गोर्खा राइफल्सको ५ औं बटालियनले विश्व प्रसिद्ध क्याम्ब्रियन पेट्रोल प्रतिष्पर्धामा स्वर्णपदक प्राप्त गरेको छ । कोभिड १९ का कारण यसपल्ट यो प्रतिष्पर्धामा नेपाली सेनाले सहभागिता जनाएको थिएन ।

संसारभरका सेनाहरुको ओलम्पिक प्रतिष्पर्धा मानिने बेलायतको वेल्सस्थित ब्रिकनमा सम्पन्न हुने यो प्रतिष्पर्धामा संलग्न भएको भारतीय सेनाको पाँचौ गोर्खा राइफल्सको फ्रन्टियर फोर्सको एउटा लडाकू सैनिक टोलीमा सहभागीहरु अधिकांश नेपाली र नेपाली मुलका छन् । विश्वभरका ९६ वटा सैनिक विशेष फोर्सका टोलीको सहभागिता रहेको सन् २०२१ को सो प्रतिष्पर्धामा भारतीय गोर्खा फौजसहित अन्य १७ वटा विदेशी सेनाले भाग लिएका थिए भने वाँकी टोली बेलायती फौजका विभिन्न विशेष फोर्सका थिए ।

अक्टोवर १३ देखि १५ सम्म वेल्समा भएको सो प्रतिष्पर्धामा विजयी गोर्खा सैनिकको टोलीलाई बेलायती सेनाका सेनापति सर मार्क क्यारेल्टन स्मिथले स्वर्ण पदक हस्तान्तरण गरेका थिए । यो विश्वप्रसिद्ध सैनिक एक्सरसाइजको आयोजना बेलायती सेनाले गर्ने गरेको छ ।
यसअघि सन् २०१९ को क्याम्ब्रियन पेट्रोलमा नेपाली सेनाका मेजर असीम गुरुङ्ग नेतृत्वकाे एउटा विशेष टोलीले स्वर्णपदक जितेको थियो । सन् २०२० को यो प्रतिष्पर्धा कोभिड महामारीको चपेटामा परेको थियो भने २०२१ मा गोर्खा बटालियन,भारतीय सेनाले स्वर्ण पदक जित्न सफल भएको हो । 

सन् १९५९ देखि शुरु भएको यो सैनिक एक्सरसाइज विश्वमै निकै कठिन मानिने एक्सरसाइजमध्येको हो । यो चुनौतिपूर्ण अभ्यासमा ५० पाउण्डको भारी बोकेर अत्यन्त चिसो ठाउंदेखि आणविक हतियारको चुनौतिसम्मलाई बुद्धिमतापूर्वक सामना गरी प्रतिष्पर्धामा खरो उत्रने सैनिक टोलीले जित हासिल गर्ने गर्दछ । २ दिन र २ रातको अनवरत प्रयत्नमा ६० किलोमिटरको सबैभन्दा चुनौतिपूर्ण यात्रामा फौजको मानसिक र शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने गरिन्छ । दुश्मनसंग कसरी प्रतिरोध गर्ने, आधुनिक चुनौतिहरुको सामना कसरी गर्ने र यसक्रममा घाइते हुनेहरुको कसरी सहज उद्धार गर्नेजस्ता विषयहरुमा सैनिक टोलीले आफ्नो प्रतिभा र क्षमता देखाउनु पर्ने हुन्छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x