केपि ओली प्रधानमन्त्री हुँदा नारायणहिटी दरबारको जग्गा कौडीको भाउमा भाडामा लगाएको कुरा खुल्दै
काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण अझै सेलाएको छैन । एक सयभन्दा बढी रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारिएको विषयले नेपालका केही दलका नेताहरूको राजनीतिक भविष्य नै दाउमा लागेको छ ।
माधवकुमार नेपाल, बाबुराम भट्टराई, विजयकुमार गच्छदार, विष्णु पौडेललगायतका यसमा मुछिएका छन् । सरकारी जग्गा हिनामिना भएको अर्को घटना बाहिर आएको छ । त्यो हो ऐतिहासिक एवं पुरातात्विक महत्वको नारायणहिटी दरबार ।
विगतमा राजपरिवार बस्ने नारायणहिटी अहिले संग्रहालयमा परिणत भएको छ । काठमाडौंको मुटुमा रहेको नारायणहिटी दरबारको जग्गा अघिल्लो केपी ओली सरकारले भाडामा लगाएर लूट मच्चाएको खुलेको छ ।
तत्कालीन ओली सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको पालामा नारायणहिटीको जग्गा रेष्टुरेन्ट खोल्न दिने गरी बतास ग्रुपलाई भाडामा लगाइएको थियो ।
पोखराका आनन्द बतास अध्यक्ष रहेको बतास गु्रपले अब त्यहॉ रेष्टुरेन्ट खोल्न लागेको हो । महानगरपालिका वडा नम्बर १ का प्रशासकीय अधिकृत सर्वज्ञराज पौडेलले सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दैछ भन्ने जानकारीसमेत कतैबाट नदिएको बताए ।
नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समन्वय समितिले एक वर्षअघि सङ्ग्रहालयको मुख्य प्रवेशद्वारभन्दा पश्चिमतर्फको जग्गा भाडामा दिएको हो । त्यसैअनुसार अहिले संरचना बन्दै गरेका हुन् ।
नारायणहिटी दरबार क्षेत्र करिब ७५४ रोपनीमा फैलिएको छ । बतास ग्रुपले मासिक दुई लाख २० हजार रुपैयाँ बुझाउने र हरेक तीन वर्षमा सम्झौता थप्ने गरी सो जग्गा भाडामा लिएको बुझिएको छ ।
तर दरबारमार्ग क्षेत्रमा प्रतिसटर भाडा प्रतिमहिना पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म रहेकोमा एमाले सरकारका पर्यटनमन्त्री भट्टराईले कौडीको भाउमा जग्गा लिजमा लगाएको खुलेको छ ।
यसरी भाडामा दिँदा ठूलो कमिसनको खेल भएको मन्त्रालयका एक कर्मचारीले बताए । ओली सरकारका पालामा गोकर्ण रिसोर्ट, नेपाल ट्रस्टको जग्गा व्यापारीलाई सस्तोमा दिएर अर्बौ भ्रष्टाचार भएको खुलिसकेको छ ।


