खेसारीलाल नआएको भन्दै मंचमा तोडफोड
कलाकार नआएको भन्दै आक्रोशित समूहले सुनसरीको बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेको छ । बर्जु गाउँपालिका- ६ स्थित चिमडीमा जारी बर्जु महोत्वसमा चर्चित भारतीय कलाकार खेसरीलाल नआएको भन्दै तोडफोड र आगजनी भएको हो ।
कलाकार खेसरीलाल आउने भनेर प्रचार गरिए पनि अन्तिम समयमा नआएपछि आक्रोशित समूहले स्टेज तोडफोड गरेका हुन् । आक्रोशित समूहले आगजनीसमेत गरेको छ ।

खेसरीलाल आउने भनेर महंगोमा टिकट काटेकाहरूले उनी आउने कार्यक्रम रद्द भएको जानकारी पाएपछि तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शी स्थानीय धर्मेश ठाकुरले बताए । उनका अनुसार आक्रोशित समूहले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गरेका छन् ।

आक्रोशित समूहले स्टेज, कुर्सीहरू र बाजागाजासमेत तोडफोड गरेको छ । तोडफोडबाट ठूलो क्षति भएको जनाइएको छ । घटनास्थल नियन्त्रणमा लिन जिल्ला प्रहरी सुनसरीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरीको बर्जु– ६ स्थित बर्जुतालको खेल मैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो ।


