अब सभामुख सापकोटालाई घेरने तयारीमा काङ्ग्रेस
काठमाडौं । सभामुखजस्तो निष्पक्ष पदमा बसेर पक्षपात गर्ने र माओवादी केन्द्रको भरिया बनेर सरकारले अघि बढाएको प्रस्ताव असफल बनाउन सक्रिय भएपछि अग्निप्रसाद सापकोटामाथि सत्तारुढ दलले एक्सन लिने भएको छ ।
सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले नेताहरु पछिल्ला दिनहरुमा भएका निरन्तरका सम्वादपछि पदीय आचरण पूरा नगरेर सभामुख सापकोटाविरुद्ध महाभियोग लगाएर हटाउने सहमति जुटेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा सभामुखले सरकारले अघि बढाएको प्रस्ताव एमसीसी सम्झौता पारित हुन नदिने षडयन्त्र गरेपछि प्रधानमन्त्री देउवा उनलाई महाभियोग लगाएर हटाउन तयार भएका हुन् । सभामुखलाई हटाउन एमाले पहिलेदेखि नै तयार छ ।
आफूले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सभामुखको राजीनामा वा महाभियोगमार्फत बहिर्गमन खोजिरहेको छ । सभामुखकै कारण एमसीसी गिजोलिएको र अन्तर्राष्ट्रिय समुदायमा नेपालको साख गिरेको ठहर कांग्रेस र एमालेको छ ।
कांग्रेसका एक नेताले सभामुखविरुद्ध आजै महाभियोग आउन सक्ने सम्भावना रहेको बताए । एमालेसँग सभामुख हटाउने विषयमा लगभग सहमति भइसकेको उनको भनाइ छ । उनकाअनुसार बिहीबार कांग्रेसका प्रमुख सचेतक एवं गृहमन्त्री बालकृष्ण खाणले भेटेर मार्ग प्रशस्त गर्न सभामुखलाई भनिसकेका छन् ।
सभामुख सापकोटाले माओवादीको योजनाअनुसार मतविभाजन गर्ने र एमसीसी फेल गराउने रणनीति लिएपछि प्रधानमन्त्री देउवाले हिजो संसद स्थगित गरेर एमालेसँग दुई चरणमा वार्ता गरेका थिए ।
वार्तामा एमसीसी असफल हुन नदिने एमाले प्रतिबद्धता रह्यो भने सभामुखलाई हटाउन सघाउने कांग्रेसको वचन थियो । त्यसपछि सत्ता लगायत थप सहकार्य गर्दै जाने सहमति भएको नेताहरु बताउँछन् ।


