एमसीसीका बारेमा उठेका प्रश्न छल्न अर्थमन्त्री उपत्यका बाहिर
काठमाडौं: प्रतिनिधीसभाको बैठकमा विवादित अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गरियोस् भन्ने प्रस्ताव देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसुचि बाहिरिएको छ तर मन्त्री शर्माले भने एमसीसीकै कारण काठमाडाँै छोडेका छन् ।
फागुन ८ गते संसदमा एमसीसी टेबुल भएको थियो , त्यस दिन पनि विभागिय मन्त्रीको हैसियतमा एमसीसी टेबुल गर्नु पर्ने दायित्व उनकै थियो तर उनी त्यस दिन पनि बिरामी भएको भन्दै संसदमै अनुपस्थित भए पछि अर्थमन्त्रीको तर्फबाट संचार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबुल गरेका थिए ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसीसीका विषयमा छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । गत आइतबार सरकारले एमसीसी टेबल गरेको छ र छलफलका लागि भोलिको बैठक तय भएको छ ।
भोलिको संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ ।
जसलाई संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ ।
संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार भोलिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने छन् ।
यसअघि आइतबार पनि उनले संसदमा एमसीसी टेबल गर्नु पर्ने थियो । तर उनको दल माओवादी केन्द्रका अधिकांश नेता एमसीसीको विपक्षमा छन् । तर अर्थमन्त्री भएका कारण एमसीसी टेबल गर्नुपर्ने भएपछि उनी बैठकमा उपस्थित भएनन् ।उनी उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी टेबल गरेका थिए ।
भोलि एमसीसीका बारेमा उठेका प्रश्नहरुको बारेमा जवाफ दिनु पर्ने भएपछि त्यसलाई छल्नका लागि अर्थमन्त्री सामान्य कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर गएका छन् ।सर्वाधिक चासो रहेको एमसीसीबारे संसदमा बहस हुँदा सम्झौताको एक पक्ष अर्थमन्त्रालय र त्यसका विभागीय मन्त्री बैठकमा सहभागी नहुने देखिएको छ ।
उनी एमसीसीबारेको प्रस्ताव पेस गर्नु पर्ने भएपछि त्यसलाई छल्नका लागि उपत्यका बाहिर गएको चर्चा चलिरहेको छ । शर्मा पर्वत उधोग वाणिज्य संघको भोलि हुने साधरणसभामा सहभागी हुन कुश्मा पुगेका छन् ।
उनको दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेको छ भने एकीकृत समाजवादीले पनि त्यस्तै निर्णय गरेको छ । तर प्रधानमन्त्री भने गठबन्धन तोडेर भए पनि एमसीसी पास गर्ने पक्षमा रहेको बालुवाटार निकट स्रोतको भनाइ छ ।


