१४ मंसिर २०८३, आईतवार

एमसीसी बारेमा कस्ले ल्यायो चीनलाई कि आफै आयो

एसीपी संवाददाता

१५ फाल्गुन २०७८, आईतवार ०३:२० मा प्रकाशित

ट्विटरमा निर्धक्क आफ्ना विचार पस्किन नहिच्किचाउने मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले ८ फागुनमा जापान, अमेरिका र चीनका ऋण र अनुदानमा सञ्चालित परियोजनाबारे एउटा तथ्यांक दिए। उनको तथ्याङ्क भन्छ, नागढुंगा टनेलमा जापानको १७ अर्ब रुपैयाँ ऋणमा ०.०१ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको २७ अर्ब रुपैयाँ ऋणमा दुई प्रतिशत व्याज तिर्नुपर्छ। र, अमेरिकाले मिलेनियम कर्पोरेसन (एमसीसी)मार्फत दिन लागेको ६० अर्ब रुपैयाँ विशुद्ध अनुदान हो।
समाचार तयार पार्दासम्म डा. कोइरालाको ट्विटले ३४० रिट्विट, एक हजार ३१९ लाइक र ७२ कमेन्ट पाएको छ। तर, उनको ट्विटलाई इन्फोग्राफ्स बनाएर आ–आफ्ना ट्विटर ह्यान्डल र फेसबुकमा पोस्ट गर्नेहरूको संख्या त्यसभन्दा धेरै गुणा बढी छ।
अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर अमेरिका र चीन नेपालमा वाक्युद्धमै ओर्लिएका छन्। र, त्यसमा साथ दिएका छन्, एमसीसीको पक्ष र विपक्षमा विभाजित नेपाली बौद्धिक र राजनीतिक दलका नेता–कार्यकर्ताले। चिया पसल, सार्वजनिक स्थल र व्यक्तिगत–सामूहिक छलफल र बहसमा केन्द्र बनेको छ, एमसीसी। प्रष्ट शब्दमा भन्नुपर्दा यी छलफल र बहसले अमेरिकाको विकास परियोजना एमसीसी त्यसबाट ‘डाइभर्ट’ भएर भूराजनीतिक मुद्दा बनाएका छन्।

 

यही एमसीसीका कारण पाँचदलीय सत्ता गठबन्धन भत्किने डिलमा उभिएको छ। कुनै समझदारीपूर्ण निर्णय भएन भने एमसीसी संघीय संसदबाट पारित हुने बेलासम्ममा सत्ता गठबन्धन भत्किएर राजनीति नयाँ कोर्समा अगाडि बढ्ने सम्भावना देखिँदैछ। सत्तारुढ कांग्रेस र मुख्य विपक्षी एमाले एक ठाउँमा उभिएर अन्य दल विपक्षी कित्तामा धकेलिने जोखिम टरिसकेको छैन। प्रष्ट छ, त्यसपछि कांग्रेस र एमाले एमसीसी पक्षधर र अन्य दलहरू विपक्षी ध्रुवमा बाँडिने जोखिम छ। करिब ६० अर्ब रुपैयाँको अनुदान परियोजनाले नेपाली राजनीति मात्र होइन, सामाजिक जीवनका हरेक अंगलाई ध्रुवीकृत गर्दै लगेको छ।
कतिसम्म भने पार्टीहरूको आन्तरिक किचलोमा एमसीसी पनि प्रमुख मुद्दा बनेको छ। जस्तो– जसपाभित्र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष एमसीसी संघीय संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव समूह मौन छ। र, यादवको मौनतालाई नियालेर हेर्दा एमसीसीको विपक्षको मत देख्न सकिन्छ। यही मेसोमा उक्त पार्टी विभाजनको दिशातर्फ अग्रसर भएको पाइन्छ। भलै, त्यसमा पार्टीभित्रकै अन्य मुद्दा पनि जोडिएका छन्।
चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको समझदारी पत्रमा २९ वैशाख ०७४ मा नेपालले हस्ताक्षर गर्दा अमेरिकाले केही बोलेको सुनिएको थिएन। अहिले एमसीसी सम्झौता संघीय संसदबाट पारित गर्ने तयारी भइरहँदा चीनले त्यसलाई अमेरिकाको धम्कीपूर्ण कूटनीति संज्ञा दिएको छ। र, आफ्नो छिमेकमा त्यस्तो कूटनीति स्वीकार्य नहुने बताएको छ।
त्यसो भए एमसीसीमा चीन आफैँ अग्रसर भएर बोलेको हो कि नेपाली राजनीतिक दलका नेताले त्यसका लागि प्रेरित गरेका हुन् त ? चीनमा नेपालका पूर्वराजदूत टंक कार्की यसमा अमेरिकाकै गल्ती देख्छन्। २८ माघमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरूलाई टेलिफोन गरेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्डो लुले ‘नेपालमा एमसीसी पारित नभए चीनको दबाबमा त्यसो भएको बुझ्नेछौँ’ भनेर धम्क्याउनु नै अहिलेको अवस्थाको द्योतक मान्छन्, उनी।
‘अमेरिकी सहायक विदेशमन्त्री लुले फायर खोलेपछि चिनियाँहरूले जवाफ दिएका हुन्,’ पूर्वराजदूत कार्की भन्छन्, ‘बीआरआई विशुद्ध विकास परियोजना हो। एमसीसी र त्यसभित्र रहेका शर्तहरू अध्ययन गर्दा त्यो अमेरिकीहरूको विकाससहितको रणनीतिक परियोजना हो भन्ने प्रष्ट हुन्छ।’ नेपाल–चीन सम्बन्धमा भाँजो हालेर आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न अमेरिकीहरू अग्रसर भएको अर्थमा सहायक विदेशमन्त्री लुको अभिव्यक्तिलाई चिनियाँहरूले लिएकैले अहिलेको अवस्था उत्पन्न भएको कार्कीको ठम्याइ छ। नेपालका नेताहरूले के बोलिरहेका छन् भन्ने भन्दा पनि अमेरिकीहरूले चीनतिर औँलो तेस्र्याएपछि चिनियाँहरूको प्रतिक्रिया आउन थालेको उनको बुझाइ छ।
परराष्ट्र मामिलाका शोधार्थी त्रैलोक्यराज अर्याल भने नेपाली बौद्धिक र राजनीतिक दलका नेताहरूले एमसीसीलाई गिजोलेको विश्लेषण गर्छन्। चीनलाई एमसीसीमा प्रतिक्रिया दिन नेपालतर्फबाटै आमन्त्रण गरिएको उनी ठान्छन्। ‘हामीले औंलो दियौँ, चीनले हात नै समात्यो,’ उनी भन्छन्, ‘शुरुमा एमसीसी ल्याउन अहिले विरोध गरिरहेकाहरूकै मुख्य हात रहेको प्रमाणित भएको छ। १६ ट्रिलियन डलरको अर्थतन्त्र भएको चीनलाई जाबो ६० अर्ब रुपैयाँ त्यो पनि पाँच वर्षमा नेपाल आउँदा के सुरक्षा खतरा हुन्छ ?
एमसीसीसँग हातहतियार र सेना नजोडिएको देखिँदा सुरक्षा खतराको प्रश्न नआउने उनी बताउँछन्। ‘एमसीसीको अनुदान सेना र हतियारमा प्रयोग नहुने प्रष्ट लेखिएको छ। खाली यो पूर्वाधार विकासका लागि हो,’ अर्याल भन्छन्, ‘सानो परिमाणको रकमबाट विकास परियोजना सञ्चालन हुने पाटोबाट नेपालमा बहस भएको भए चीनले पनि मुख खोल्नुपर्दैनथ्यो।’
नेपालमा चीनको कुरा गर्दा ‘राष्ट्रवाद’ तथा भारत र अमेरिकाप्रति शंकाको दृष्टिबाट हेर्ने नकारात्मक प्रवृत्तिका कारण अहिलेको परिस्थिति निर्माण भएको अर्यालको विश्लेषण छ। ‘चीन र अमेरिकाको समर्थक बन्ने ध्रुवीकरण नेपालभित्रैबाट भएको हो। यही कारणले नेपालमा एमसीसी गिजोलियो,’ उनी भन्छन्।
नेपालभित्र एमसीसी संसदमै टेबल गरेर छलफल गर्ने कि नगर्ने भन्ने विषयमा सडक तात्तिँदा त्यसले अमेरिका र चीन दुवैका लागि प्रतिष्ठाको विषय बनाइदिएको भने सत्य हो। व्यापार युद्धमा होमिएका अमेरिका र चीन एकअर्कालाई होच्याउन लागिपर्नुलाई स्वाभाविकै मान्न सकिएला। चीनले अमेरिकाको साख घट्दो क्रममा देखाउन खोज्छ नै। र, अमेरिकालाई देखाउनु छ, ‘मेरो साख घट्दो छैन र मलाई चीनले प्रतिस्थापन गर्न सक्दैन।’ त्यही प्रतिस्पर्धाबीच संसारका दूरदराजका मुलुकहरूमा पनि अमेरिका र चीनले एकअर्कालाई मुख्य प्रतिस्पर्धी देख्न थालेका छन्। त्यही बेलामा नेपालमा एमसीसी गिजोलियो अनि अमेरिका र चीन यस परियोजनालाई लिएर वाक् युद्धमा उत्रिए।
नेपालीहरूकै मुख्र्याईंका कारण चीन पनि अनावश्यक विषयमा फस्न पुगेको देख्छन्, अर्याल। कूटनीतिलाई उचित ढंगले सञ्चालन गर्न नसक्दा अमेरिकाले ‘रियाक्ट’ गरेको र त्यसमा चीनले ‘ओभर रियाक्ट’ गर्नुपर्ने परिस्थिति निर्माण भएको ठान्छन् उनी। ‘यो परियोजनालाई पाँच सय मिलयन डलरबाट एक हजार मिलियन डलरमा बढाउनेबारे नेपाली बौद्धिकहरूले बहस गरेको भए अमेरिकाबाट दोब्बर अनुदान पनि आउँथ्यो होला,’ उनी भन्छन्, ‘जस्तो– क्याम्बोडियाले त्यसरी नै दोब्बर सहायता लिएको छ। मंगोलियाले एउटा परियोजनालाई सफलीभूत बनाएको छ। आयोमेेल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x