युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भारतका प्रधानमन्त्री मोदि सग सहयोगको अपिल
एजेन्सी — युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भारतसँग सहयोगका लागि आग्रह गरेका छन् । जेलेन्स्कीले एक ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार टेलिफोन गरी सहयोगको अपील गरेको जनाएका हुन् ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा राजनीतिक समर्थनका लागि पनि उनले मोदीसँग आग्रह गरेका छन् । ‘मैले प्रधानमन्त्री मोदीसँग मद्दत मागेको छु । हाम्रो देशमा एकलाख रुसी सेनाले आक्रमण गरिहेका छन् । हाम्रो घर र जमीन कब्जा गरिएको छ । भवनहरू जलिरहेका छन्,’ उनले ट्विटरमा लेखेका छन्, ‘यस्तो अप्ठ्यारो र आपतकालिन समयमा तपाईले राजनीतिक र अन्य सहयोग गर्नुहोस् ।’
रुसले युक्रेनमाथि आक्रमण गरेको तेस्रो दिन युक्रेनी राष्ट्रपतिको भारतीय प्रधानमन्त्रीसँग सम्पर्क भएको हो । भारतीय पत्रिका द हिन्दुका अनुसार दिल्लीस्थित युक्रेनी दूतावासले २२ फेब्रुअरीमै भारतीय विदेश मन्त्रालयलाई राष्ट्रपति जेलेन्स्कीले मोदीसंग कुराकानी गर्न चाहेको सूचना दिएको थियो ।
यसअघि भारतका लागि युक्रेनी राजदूत डा. इगोर पोलिखाले रुसले आक्रमण गरेकै दिन भारतसँग सहयोगको आग्रह गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीले हस्तक्षेपकारी भूमिका खेलेको खण्डमा युद्ध रोकिने विश्वास व्यक्त गरेका थिए । मोदीले युक्रेनमा भइरहेको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गरेका छन् ।
राष्ट्रसंघमा भारतले रुसकोविरुद्ध गरिएको मतदान बहिष्कार गरेको छ । भारतका तर्फबाट राष्ट्र संघमा प्रतिनिधि टीएस तिरुमूर्तिले कुटनीतिक बाटो अपनाउन सबै पक्षलाई जोड दिएका छन् । उनले युक्रेनमा विकसित घटनाक्रम प्रति भारत चिन्तित रहेको उल्लेख गर्दै हिंसा र दुश्मनीलाई छिटो रोक्नुपर्ने बताएका छन् । भारत जस्तै चीनले पनि ‘नो भोटिङ’ कै रणनीति अपनाएको छ ।
यसैबीच, भारतले रुसी आक्रमणपछि युक्रेनमा अलपत्र नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ । एयर इन्डियाको विमान शनिबार रोमानियाको राजधानी बुखारेस्टमा अवतरण गरेको छ ।
युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहा पुगेको बताइन्छ । युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला भारतले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको हो ।
युक्रेनमा लगभग २० हजार भारतीयहरू छन् । तीमध्ये अधिकांश विद्यार्थी छन् । कतिपय भारतीयले सामाजिक सञ्जालबाट युक्रेनबाट उद्धारका लागि आग्रह गरिरहेका छन् ।


