माओवादीका सात सांसदको ह्वीप उल्लंघन, झलनाथको पनि बहिष्कार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सात सांसदले पार्टीको ह्वीप उल्लंघन गरेको खुलेको छ । माओवादीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदबाट जस्ताको तस्तै पास गर्न नहुने आवाज उठिरहेका बेला पार्टीले व्याख्यात्मक टिप्पणीसहित पास गर्न निर्देशन दिएपछि सात सांसदले पार्टीको ह्वीप उल्लंघन गरेको खुलेको छ ।
पूर्व सभामुख समेत रहेका कृष्णवहादुर महरा, नेतृ जयपुरी घर्ती, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी र अमृता थापाले संसद बैठक बहिष्कार गरेर ह्वीप उल्लंघन गरेका थिए भने । संसदभित्रै रहेका सांसदहरु गिरिराजमणि पोखरेल र अन्जना विशंखेले भने बैठकमै उपस्थित भएर विपक्षमा हात उठाएर पार्टी निर्णयको ह्वीप उल्लंघन गरेका थिए । माओवादी नेता पोखरेलले भने संसदमा भएको एमसीसी प्रस्तावमाथिको छलफलमा भाग लिदै आपत्ति जनाएका थिए ।
देव गुरुङले प्रमुख सचेतकको हैसियतबाट सांसदहरुलाई एसएमएसमार्फत ह्वीप लगाएका थिए । तर उनीहरुले सो ह्वीप उल्लंघन गरेका थिए । ह्वीप उल्लंघन गर्ने मध्येकी यसोदा सुवेदी गुरुङ देव गुरुङकै श्रीमती हुन् । श्रीमान ह्वीप लगाउने श्रीमतीले ह्वीप उल्लंघन गर्ने दुर्लभ दृष्य देखिएको माओवादी नेताहरुले बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रचण्डले केही नेताको बिमति रहनु स्वभाविक भएको पनि बताएपनि उनीहरुले संसद बैठक बहिष्कार गरेको बारे केही बताएका थिएनन । माओवादी पार्टीले यसलाई गोप्य राख्न चाहेको छ । नेकपा माओवादी केन्द्रका नेता स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, देव गुरुङ लगायतले सार्वजनिक रुपमै विमति राखेका थिए । नेता श्रेष्ठले भ्रमपूर्ण रुपमा एमसीसी अनुमोदन गरिएको भन्दै एमसीसीविरुद्धको आन्दोलनमा लाग्ने सामाजिक सञ्जाल फेसबुकबाटै घोषणा गरेका थिए ।
उनले एमसीसी अनुमोदन गरिएको दिनलाई कालो दिनको रुपमा लिने समेत बताएका थिए । एमसीसी पास भएपछि पूर्व सभामुख महरा र वर्तमान सभामुख अग्नी सापकोटा पनि असन्तुष्ट बनेका छन् । माओवादी पार्टीभित्र धेरै नेता कार्यकर्ताहरु असन्तुष्ट बनेका बेला प्रचण्डले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेका थिए । तर सांसदहरुले ह्वीप उल्लंघन गरे नगरेको विषयमा केही बताएका थिएनन । सोमबार प्रचण्डले देव गुरुङले पार्टीको बैठकमा विमति राखेपनि बाहिर त्यस्तो विमति नराखको बताएका थिए । यद्यपि पार्टीको ह्वीप उल्लंघन गर्नेमा उनकै श्रीमती यसोदा सुवेदी पनि रहेकी थिइन ।
यसैगरी नेकपा एकिकृत समाजवादी (एस)पार्टीका सम्मानित नेता झलनाथ खनालले पनि संसदमा एमसीसी पास गराउने प्रकृयालाई बहिष्कार गरेका थिए । सदनमा पक्ष विपक्षको प्रकृया शुरु हुनु अगावै खनालले संसदबाट बाहिर निस्किएर बहिष्कार गरेका हुन् । खनालसँगै केही सांसदहरुले पनि बहिष्कार गर्ने बताएको अन्य सांसदहरले भने एमसीसीको पक्षमा मत दिएका थिए ।
पार्टीले एमसीसीलाई व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरेपनि सम्मानित नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई १३ बुँदे ‘एमसीसीबारे गम्भीर महत्वको प्रस्ताव’ पेस गरेका थिए । उनले उक्त प्रस्तावलाई नै ‘नोट अफ डिसेन्ट’ भनेका थिए ।
नेकपा एक हुँदा गठन गरिएको एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका नेता खनालले एमसीसी राष्ट्रघात रहेको भन्दै अध्यक्ष नेपाललाई १३ बुँदे प्रस्ताव पेस गरेर आफ्नो असहमति प्रकट गरेपछि उनी संसदबाट बाहिर निस्केका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले १३ बुँद्धामार्फत एमसीसी अनुमोदन गरे हुनेसक्ने सम्भावित दुर्घटनाबारे सविस्तार ब्याख्या गर्दै अनेक प्रश्न उठाएका थिए ।


