संसद विघटनको फेरि संकट
काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे संसद विघटनको बाटोमा जानेसम्मको विषयले सत्ता गठबन्धनमा प्रवेश पाएको हो ।
शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा समेत यो बिषयमा छलफल भएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डले विगतमा पनि वैशाखमै प्रतिनिधि सभाको चुनाव गर्ने गरी जान प्रस्ताव गरेका थिए ।
यति मात्रै हैन्, सत्ता गठबन्धनभित्र विगतको चुनावी परिणामलाई मध्यनजर गरी गठबन्धनमा सिट भागवण्डा गर्दै चुनावमा जाने कुरा समेत चलेको छ ।
यी मुद्दासहित सत्ता गठबन्धनमा अर्ली इलेक्शनको विषय पसेको हो । विगतमा प्रधानमन्त्री नहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनको प्रस्ताव गरेका थिए । देउवा प्रधानमन्त्री भएपछि भने यो विषय ओझेलमा परेको छ ।
एमालेको अवरोध हट्नुपर्ने या विकल्पमा जानुपर्ने भन्दै प्रचण्डले अर्ली इलेक्शनमा जोड दिइरहेका छन् ।


