चुनावको तयारी पनि बिद्रोहको चेतावनी पनि
काठमाण्डौ । सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो । किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ ।
जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत) ले यही भन्नुहुन्छ, हाम्रो माग पूरा भएन भने हामी चुनाव हुन दिन्नौँ भन्नेमा हामी अडिग छौँ । जनमत पार्टीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,
‘निर्वाचन गर्नु पूर्व जारी किसान आन्दोलनको माग नेपाल सरकारद्वारा सम्बोधन गर्ने ठोस पहल गरेको हुनुपर्ने, निर्वाचन आयोगमा दर्ता रहेका र आयोगबाट चुनाव चिह्न पाइसकेका दलहरूलाई सोही चुनाव चिह्न वितरण गर्नु पर्ने, मतदाता परिचयपत्र र नागरिकता परिचयपत्रको आधारमा मतदान गर्न दिनुपर्ने,
निर्वाचन आयोगदेखि लिएर निर्वाचन अधिकृतहरूले कुनै पनि सत्ताधारी पार्टीको पक्ष लिन नहुने, चुनावको क्रममा अरू पार्टीका कार्यकर्ताहरूद्वारा आक्रमण, डर त्रास देखाउने, पैसाको लोभ दिने, मत खरिदबिक्री गर्ने, मत हाल्न अवरोध सिर्जना गर्ने, मतगणनामा गड़बड़ी गर्ने जस्ता कामको पार्टीले घोर भर्त्सना गर्दछ ।’


