१४ मंसिर २०८३, आईतवार

गृहमन्त्री खाणले एमसीसी सम्झौताबारे बुझिने गरी व्याख्या

एसीपी संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार ०१:०७ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौताबारे बुझिने गरी व्याख्या गरेका छन् । एमसीसी सम्झौता भ्रम चिर्न देश दौडाहमा रहेकाले खाणले आफ्नै शैलीमा एमसीसीको महत्व र फाइदाबारे ब्याख्या गरेका हुन् । जसले भ्रम चिर्न मद्दत गरेको छ । उनले सुरुवातमा एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताए ।

गृह मन्त्रालयमा सोमबार नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२औं अधिवेशनको उदघाटन गर्दै खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए । ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ’, उनले भने, ‘एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न ।’

उनले एमसीसीले विद्युतको विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने बताए । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताएका छन् । उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए ।

‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन’, खाणले भने, ‘राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो ।’ केही कम्युनिस्ट र मण्डलेहरूले एमसीसीका विषयमा नआवश्यक भ्रम फैलाएर विरोध गरेका बेला गृहमन्त्री खाणले कुनै पनि विदेशी सेना नेपाल नआउने बताएका हुन् । उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए ।

एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने भन्दै उनले दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको बताए । एमसीसी ऋण नभइ अनुदान भएको उनले बताएका छन् । आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको समेत खाणले बताएका छन् ।

एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने गृहमन्त्री खाणले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x