राजनीतिमा महिला स्पेसका लागि आरजुको नयाँ प्रस्ताव, अब आफैं लड्ने
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वरिष्ठ समाजसेवी डा. आरजु राणा देउवाले राजनीतिमा महिलाको सहभागिता बढाउन नयाँ प्रस्ताव गरेकी छन् ।
११२औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पर्क भारत नेपालले काठमाडौंमा आयोजना गरेको राजनीतिमा महिला सहभागिता : चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा पालिकाका सबै उपमेयर/उपप्रमुखलाई स्थानीय तहको चुनावमा मेयरको उम्मेदवार बनाउनुपर्ने प्रस्ताव दलहरुसमक्ष राखेकी हुन् ।
त्यसका लागि आफ्नो पार्टी नेपाली कांग्रेसले पहल थाल्ने उनको भनाइ छ । महिला उमेदवारका लागि ‘मनी, मसल र पावर’ ठूलो चुनौती रहेको उनको भनाइ थियो । महिलाहरुले प्रत्यक्ष चुनाव जित्न सक्दैन भन्ने मान्सिकता त्याग्न उनले आह्वान गरिन् ।
आन्दोलनमा पुरुष सँगसँगै लडेका महिलालाई उनीहरुले सत्ता र अधिकार दिन नचाहेकाले अब लड्नुपर्ने उनले बताइन् । राजनीतिमा महिलाहरू स्थापित हुँदै जानु सुखद संकेत भएको भन्दै उनले जवाफदेही, सचेत र प्रगतिशील समाजका लागि महिलाको नीति निर्माणमा भूमिकाले उन्नत र सशक्त समाजको निर्माण गर्ने विश्वास व्यक्त गरिन् ।
मंगलादेवी सिंहको संघर्षले महिलाले मतदानको अधिकार पाएको स्मरण गर्दै आरजुले गणतन्त्र नेपालको संविधान, २०७२ ले महिलाले लामो समयदेखि आकांक्षा राख्दै आएका अधिकारको पक्षमा महत्वपूर्ण परिवर्तन ल्याउन सफल भए पनि अझै पितृसत्तात्मक समाजका कारण उनीहरूले त्यो अधिकार पूर्ण रूपमा उपभोग गर्न नपाएको बताइन् ।
संविधानले आधारभूत महिला अधिकारको रूपमा सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, शिक्षा, स्वास्थ्य, रोजगार, समान तलब/ज्याला, सामाजिक सुरक्षा, सम्पत्तिको अधिकार तथा राज्यका सबै निकायमा समावेशीताका आधारमा महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरेको भन्दै उनले स्थानीय तहमा ४० प्रतिशत र माथिल्लो तहमा ३३ प्रतिशत राजनीतिक प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनका लागि महिलाहरू नै जागरूक हुनुपर्ने उनको भनाइ थियो ।
राजनीतिमा महिलाको ५० प्रतिशत र सोभन्दा बढी प्रतिनिधित्व र सहभागिताले लोकतन्त्र, राजनीतिक र सिंगो समाजलाई सशक्तिकरण गर्नुका साथै दीगो विकास लक्ष्यमा समावेश ‘दीगो विकासका लागि लैंगिक समानता’को विकास लक्ष्य प्राप्त हुने उनको निष्कर्ष छ ।


