१४ मंसिर २०८३, आईतवार

ओलीले मतपत्रको हैन, बोल्ने ढंगमा विचार पुर्याउनुपर्छः महामन्त्री शर्मा

एसीपी संवाददाता

२६ फाल्गुन २०७८, बिहीबार २१:५२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई रङका विषयमा आक्षेप लगाउनु भन्दा पहिले आफ्नो बोल्ने ढंगमा विचार पुर्याउनुपर्ने बताएका छन् । उनले रङका विषयमा सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन पनि आग्रह गरेका छन् ।

शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गरेका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिए ।

अध्यक्ष ओलीले सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे । उनले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए ।

उनले कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई नपोल्ने भन्दै मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला भन्दै मतपत्र हेरेर नतर्सिन सुझाए ।

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गरे । उनले आयोग संविधान र निर्वाचनसँग सम्बन्धित नियमावलीबाट बाँधिएको हुने बताउँदै निर्वाचनको प्रक्रियामा जाँदा विशेष गम्भीरता पुर्याउनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले सरकारको नेतृत्व गरेका बेला एमाले अध्यक्ष ओलीले गरेका आश्वासनहरूको समीक्षा गर्न पनि सुझाव दिए । ५ वर्षको शासन चलाउँदै गर्दा ३ वर्षमा कति ठिक ढंगले शासन गर्नुभयो भनेर पनि सैद्धान्तिक, वैचारिक र समृद्धिको बहस गर्नुपर्नेमा उनको जोड थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x