१४ मंसिर २०८३, आईतवार

ऐतिहासिक मौका पाउँदा पनि मुलुकको नेतृत्व गर्न असक्षम कम्युनिस्ट मिलाउने नौटंकी किन गर्दैछ चीन?

एसीपी संवाददाता

७ चैत्र २०७८, सोमबार ०६:५४ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा वाम एकताको बहस फेरि उठेको छ । २०७४ को वाम एकताले पुरै देशले धोका, अराजकता, अन्योलता र अनिश्चितता खेपेका बेला फेरि उत्तरी छिमेकी चीनको पहलकदमीमा वाम एकता गर्नुपर्ने बहस हुन थालेको हो ।

पार्टी नै एकीकरण गरेर दुइतिहाई बहुमत हासिल गरे पनि कम्युनिस्टहरुले देश चलाउन नसक्दा पुन: प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले जनमत नभए पनि परिस्थितिवश अलपत्र अवस्थामा देशको नेतृत्व सम्हाल्नु पर्यो र अहिले देशलाई विस्तारै ट्रयाक ल्याइरहेको छ । कम्युनिस्टको सरकार हुँदा देशमा जुन त्रास र कोलाहलको अवस्था थियो, शेरबहादुर देउवाको नेतृत्वमा अहिले त्यसबाट देश सामान्य अवस्थातिर गएको छ ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा देश चुनावतिर गएको छ । विगतमा देउवालाई धोका दिएर वाम एकता गरेकाहरु पछि देउवाकै शरणमा आए । राज्यमा कांग्रेसकै नेतृत्व खोजे । यी घटनाक्रमले नेपालमा राज्य सञ्चालन र सत्ता सञ्चालन कम्युनिस्ट एक्लैले सक्दैन, कांग्रेसको साथ चाहिन्छ भन्ने प्रमाणित गरेको छ ।

यस्तो बेला कम्युनिस्ट शासन प्रणाली अपनाएको उत्तरी छिमेकी चीनले नेपालमा पुन: कम्युनिस्ट एकताको बहस छेडेको छ । नेपालमा आफ्नो प्रभुत्व कायम गर्न, असक्षम कम्युनिस्टहरु राखेर आफ्नो स्वार्थ सिद्ध गर्न र नेपाललाई श्रीलंकाजस्तै ऋणमा डुबाएर असफल राष्ट्र बनाउने गरी चीनले स्वर्णिम मौका पाउँदा मुलुकको नेतृत्व गर्न असक्षम कम्युनिस्टहरुलाई मिलाउन सक्रियता बढाएको हो ।

जसअन्तर्गत चिनियाँ राजदूत होउ यान्छीको सक्रियता, नेकपा एमालेका दोस्रो तहका नेतालाई चीन बोलाउनु, चिनियाँ विदेशमन्त्री वाङ यीसहित उच्च कुटनीतिज्ञको नेपाल भ्रमणजस्ता गतिविधि अघि बढेका छन् ।

नेकपा माओवादी केन्द्रका वर्षमान पुनलगायत चीननिकट नेता र स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘एमालेसँग तालमेलको ढोका बन्द भएको छैन’ भन्ने अभिव्यक्तिले पनि चिनियाँ अगुवाइमा भइरहेको पुन: गठबन्धनको संकेत गर्छ ।

त्यसमाथि एमालेमा अध्यक्ष केपी ओलीसहित पहिलो वरियताका नेताले गठबन्धन गर्न नमानेका बेला नेतृत्वमाथि दबाब बढाउन चीनले दोस्रो तहका विष्णु पौडेलहरुलाई आफ्नो देशमा बोलाएको छ । एमालेमा महासचिव शंकर पोखरेलहरु पनि आत्मालोचना गरेर पुन एकता गर्नुपर्ने पक्षमा छन् ।

जनताले वाम गठबन्धनले देशलाई निकास दिँदैन, कम्युनिस्टले देश चलाउन सक्दैनन् भन्ने यो तीन वर्षमा राम्ररी भोगिसकेको छ । अब पुन झुक्किने अवस्था त रहने छैन । तर चिनियाँ दबाब र प्रभावमा हुने गठबन्धनको नाटक मञ्चनले देशलाई अस्थिरतातर्फ भने लैजानेछ ।

किनभने २०७४ मा पनि चिनियाँ पहलमै भएको गठबन्धनमात्र होइन कम्युनिस्ट एकता नै टिकेन । देशको नेतृत्व गर्न असफल रह्यो । स्थिरता, विकास र समृद्धिको नारा दिएर देशलाई अस्थिरता र अन्योलमा धकेल्ने काम भयो । जनमतको अपमान कम्युनिस्टबाट भए पनि कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आयो ।

चिनियाँ अगुवाईमा एकपटकको एकता असफल भइसकेपछि पुन वाम गठबन्धन र कम्युनिस्ट एकताको बहस निरर्थक छ । यो नेपालको स्थिरता, विकास र समृद्धिको अहितमा छ भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । त्यसमाथि कम्युनिस्टको एकतादेखि नेकपा फुटसम्म चिनियाँ राजदूतको संलग्नता छ ।

आफ्नो अनुकूलतामा उनले केपी ओलीलाई एक पद छोड्न बालुवाटारमा गएर उर्दी जारी गरेकै हुन् । यस्तो बेलामा पुन चिनियाँकै संलग्नतामा किन कम्युनिस्ट एकता गर्ने ? एक चिनियाँ स्वार्थमा हुने एकताले देश र स्वय कम्युनिस्टकै हित गर्दैन ।

अर्कोतिर कम्युनिस्टहरु आपसमै नमिल्ने भएकाले यो देश हितमा छैन । स्थिरतामा बाधक बन्नेछ । अब जनताले पनि बुझिसकेका छन् कि कम्युनिस्ट एकताले देश उभो लाग्दैन । दुई तिहाइ दिँदा पनि तीन वर्ष टिकाउन सकेनन् । यो देशलाई अस्थिरताको भूमरीमा धकेल्न चिनियाँहरु नौटंकी किन हामी सहने ? भन्ने अहम् प्रश्न आज बनेको छ ।

चिनियाँ ऋणको पासो, बीआरआई परियोजनाजस्ता चिनियाँ हितमा काम गर्ने कि नेपालको हितमा? नेपालका कम्युनिस्टहरुलाई यो आम जनताको प्रश्न हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x