रुस-युक्रेन द्वन्द्वमा भारतको स्वतन्त्र परराष्ट्र नीतिको पाकिस्तानी प्रधानमन्त्रीले खुलेरै गरे प्रशंसा, मोदीको नीतिले फाइदामा भारत
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय परराष्ट्र नीतिको प्रशंसा गरेका छन् । रुस-युक्रेन द्वन्द्वमा तटस्थल रहेर आफ्नो फाइदा हेरेको भारतको स्वतन्त्र परराष्ट्र नीतिको खानले प्रशंसा गरेका हुन् ।
भारतमा नरेन्द्र मोदीले अपनाएको नीतिले भारतीय जनतालाई अधिक फाइदा भएको भन्दै खानले पाकिस्तानमा त्यस्तै नीति अपनाउँदा विपक्षीहरुले पश्चिमाको डिजाइनमा सरकार ढाल्न खोजेकोमा आक्रोश पोखेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय समकक्षी मोदीकै शैलीमा स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी देश हितमा फाइदा लिन खोजेका थिए । तर उनीविरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएका छन् । पश्चिममा राष्ट्रले युक्रेनका पक्षमा उभिन र राष्ट्रसंघीय महासभामा मतदान गर्न दिएको दबाब नमानेपछि आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको इमरानको ठहर छ ।
इमरानले मोदीसँगै रुससँग निकट सम्बन्ध राखेर खस्किरहेको पाकिस्तानी अर्थतन्त्र उकास्न खोजिरहेका छन् । तर पश्चिममा राष्ट्रले युक्रेनको पक्षमा उभिन दबाब दिएपछि खान आक्रोशित छन् । अविश्वासको प्रस्तावलाई पश्चिमी मुलुकको षडयन्त्रको रुपमा लिएका छन् । इमरान खानका मन्त्रीहरुले विदेशी शक्तिको सहारामा विपक्षी दलले आफ्नो स्वार्थ पूरा गर्न खोजेको टिप्पणी गरिरहेका छन् ।
यस्तो बेला प्रधानमन्त्री खानले भारतले अपनाएको कुटनीतिको प्रशंसा गर्दै विपक्षीमाथि आक्रोश पोखेका हुन् । भारतमा नरेन्द्र मोदीले आफ्नो देश र जनताको हितमा स्वतन्त्र कुटनीति अवलम्बन गरेकोमा खानले प्रशंसा गरेका हुन् । भारत रुस-युक्रेन विवादमा तटस्थ छ ।
विश्वले रुसमाथि प्रतिबन्ध लगाइरहेका बेला स्वतन्त्र कुटनीतिको प्रयोग गर्दै भारतले रुसबाट सस्तोमा तेल ल्याएर महंगी नियन्त्रण गर्ने र जनतालाई राहत दिने योजना बनाइरहेको छ । दुबै देशसँग समदुरी राखेर अघि बढेको छ । भारतको यो मोदी मोडलमा पाकिस्तानी प्रधानमन्त्री खानले समर्थन जनाएका हुन् ।
भारतले आफ्नो राष्ट्रिय स्वार्थका लागि स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको उनको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘म हाम्रो छिमेकी मुलुक भारतको प्रशंसा गर्न चाहन्छु । उनीहरूसँग सधैं स्वतन्त्र परराष्ट्र नीति छ । भारतले क्वाडमा अमेरिकासँग गठबन्धन गरेको छ तर प्रतिबन्धका बाबजुद रुसबाट तेल ल्याइरहेको छ । यसको कारण के हो भने भारतको परराष्ट्र नीति त्यहाँका मानिसको हितमा छ,’ उनले भनेका छन् । नेपालपाना


