सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन १३ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै सम्पन्न
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन १३ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
घोषणापत्रमा सबै सामुदायिक रेडियोहरुले स्वामित्व लिन सक्ने गरी आचारसंहिता निर्माण गर्दै त्यसको प्रभावकारिता कार्यान्वयन गर्ने, रेडियोको नेतृत्व र प्रशारण सामग्रीमा महिला, आदिवासी, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका लगायतका समुदायलाई समान ढंगले अवसर पाउने वातावरण बनाउन नीतिगत रुपमै व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । यसैगरी नेपालको संविधान २०७२ द्वारा प्रदत्त सूचनाको हक, मिडियाको स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतालाई व्यवहारिक रुपमा आधारभूत तहसम्म अनुभूत गराउन सचेत रहँदै थप उर्जा र रणनीति सहित अघि बढ्ने, बागेश्वरी मन्दिर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लगायत यस क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन क्षेत्रहरुको प्रचारप्रसार गर्ने प्रतिवद्धता गरिएको छ ।
यस्तै, घोषणापत्रमा राष्ट्रिय आम सञ्चार नीति २०७३ को व्यवस्था अनुसार सामुदायिक रेडियोको छुट्टै ऐनको व्यवस्था गर्न, रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियोको दिगोपनका लागि नीति तथा कानून ल्याउन संघीय, प्रदेश र स्थानीय सरकारसँग माग पनि गरिएको छ । विज्ञापन वितरणमा विद्युतीय र छापा माध्यमप्रति गरिएको विभेद अन्त्य गरी समानुपातिक विज्ञापन नीति लागू गर्न माग समेत घोषणापत्रमा गरिएको सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले बताए ।
बुधबार र विहिबार दुई दिनसम्म चलेको रेडियो सम्मलेन एवम् साधारणसभाको कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गरेका हुन् । सम्मेलनमा देशभरका सामुदायिक रेडियोका प्रतिनिधिहरुको सहभागिता थियो ।


