बनारसमा प्रधानमन्त्रीलाई मुख्यमन्त्री योगीको न्यायो स्वागत, पशुपति मन्दिर उद्घाटन गर्ने
नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिक शहर बनारस पुगेका छन् ।
बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवा एयर इण्डियाको जहाजबाट आइतबार बिहान नेपाली प्रतिनिधिमण्डलसहित बनारस पुगेका हुन् ।
बनारस रहँदा प्रधानमन्त्री देउवाले काशी विश्वनाथ मन्दिर, काशी विश्वविद्यालय अवलोकन गर्ने कार्यक्रम छ । वीपी कोइराला भाडामा बसेको घरको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै उत्तर प्रदेशमा निर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा गत शुक्रबार प्रधानमन्त्री देउवासहितको ५० सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली प्रस्थान गरेको थियो । शनिबार दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
सोही क्रममा नेपाल -भारतबीच द्विपक्षीय वार्ता भएको थियो । सो अवसरमा नेपाल-भारतबीच विभिन्न विषयमा हस्ताक्षर भएको थियो ।
आजै प्रधानमन्त्री देउवा दिल्ली फर्किएर अपरान्ह ४:१५ बजेको उडानबाट काठमाडौं प्रस्थान गर्ने तालिका छ ।


