१४ मंसिर २०८३, आईतवार

सर्लाहीमा कांग्रेसको शानदार इनिङ : माओवादीका वडाध्यक्षसहित शक्तिशाली नेता पार्टी प्रवेश

एसीपी संवाददाता

२१ चैत्र २०७८, सोमबार ००:५२ मा प्रकाशित

सर्लाही । सर्लाहीमा नेकपा माओवादी केन्द्र रित्तिएको छ । गत स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित वडाध्यक्षसहित प्रभाव राख्ने नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

सर्लाहीमा कांग्रेसको नयाँ टिम आएपछि पछिल्लो समय आकर्षण बढिरहेको छ । जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको नेतृत्वमा दिनहुँ पार्टी प्रवेशको लहर चलिरहेको छ ।

यसैक्रममा आइतबार लालबन्दी नगरपालिका- १३ वडाध्यक्ष शिवकृष्ण वैद्य सहित अन्य १० जना वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस सर्लाही- १ (ख) ले लालबन्दी- ९ बस्तीपुरमा रहेको होटल आर्या इनमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा वडाध्यक्ष वैद्यसँगै लालबन्दीको वार्ड नं. ११,१२ र १३ का १० जना निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व मन्त्री शम्भु लाल श्रेष्ठले अविर र खादा लगाएर पार्टीको सदस्यता प्रदान गरे ।

कार्यक्रममा सभापति यादवले अहिले देशभरि नै कांग्रेस पक्षमा जनलहर छाएको बताउँदै व्यक्तिगत मन मनमुटाव नगरी कांग्रेसलाई भोट हाल्न आग्रह गरे । उनले जसको पक्षमा जनसमर्थन हुन्छ उसैलाई टिकट दिइने बताए । चुनावमा पार्टीलाई घात गर्नेलाई चुनाव पछि हैन चुनाव अघिनै कारवाही गरिने बताए । त्यसका लागि वडा स्तरबाटै अनुशासन समिति गठन गर्न आग्रह गरे । नेपाली कांग्रेसका साथीहरूले कांग्रेसमै भोट हाले मधेस प्रदेशमा नेपाली कांग्रेस कहिले पनि नहार्ने उनको भनाइ थियो ।

केन्द्रीय सदस्य नगिना यादवले सर्लाहीमा नेपाली कांग्रेसले १० सिट सुतिसुति जित्ने अलिकति मिहिनेत गरेमा १५ सिट जित्ने दाबी गरिन् । त्यसको लागि गुट उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवम् महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले पार्टी अधिवेशनले उर्जा भएको युवा र अग्रज दुवैलाई छनेको बताउदै अग्रजको अनुभव र युवाको उर्जाको प्रयोग गरेर पार्टीलाई बलियो बनाउदै चुनावमा जित हासिल गर्न सकिने तर्क गरे । उनले मत मतान्तरलाई बिर्सेर पार्टीलाई पाँच वर्षसम्म झुक्नु नपर्ने अवस्थामा लैजान आग्रह गरे ।

सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहले नव आगन्तुकलाई अन्य पार्टीमा रहेको भन्दा धेरै मान सम्मान गर्ने बताए । आफू कुनै पनि गुट उपगुटको पक्षमा नरहेको बताउँदै चारतारे झण्डा सम्झने रूखमा भोट हाल्न आग्रह गरे । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले कार्यक्रममा अन्य तीन जना वडाध्यक्ष पनि प्रवेश गर्न चाहेका तर आफ्नै पार्टी भित्रबाट रोकेको आफूले सूचना पाएको बताए ।

आफू पार्टीलाई मजबुत बनाउन लागि परेको बताउदै पार्टीलाई मजबुत बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । सर्लाही- का सभापति हरिबहादुर लुंगेलीले नवप्रवेशी वैद्य केही समय अन्य पार्टीमा रहे पनि अहिले आफ्नै पार्टीमा फर्केकोमा खुसी व्यक्त गरे । कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिपक अधिकारीले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

नवप्रवेशीको तर्फबाट बोल्दै शिवकृष्ण वैद्यले जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि कांग्रेसले देशलाई अप्ठ्यारो परिस्थिति बाट निकालेको बताए । कांग्रेसले अरू पार्टीसँग गठबन्धन गर्नु भन्दा कांग्रेसभित्रै गठबन्धन गर्न पर्ने बताए । अरू सबै पार्टी एक भए पनि नेपाली कांग्रेस एक भएमा कांग्रेसले नै जित्ने उनको दाबी थियो ।

कार्यक्रममा बोल्दै महिला नेतृ सोनी बम्जमले २५ सय क्रियाशील सदस्य रहेको लालबन्दीमा कांग्रेसलाई जित्न गाह्रो नपर्ने बताइन् । सर्लाही- १ (ख) सभापति सीताराम दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति प्रशान्त आचार्यले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेसका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिलगायत कांग्रेसका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x