मुख्य निर्वाचन अधिकृतहरु जिल्लामा पुगे
बैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ । 
आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको जनाएको छ । सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ ।‘ बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले भने, ‘उहाँहरु कार्य क्षेत्रमा जान र तयारी गर्न अबको केही दिन छुट्याइएको हो ।’
उनका अनुसार, जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् । आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्य क्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको छ । आयोगले मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्लाका वरिष्ठतम् न्यायाधीशलाई नियुक्त गरेको छ भने निर्वाचन अधिकृतहरुमा न्याय तथा प्रशासन सेवाका उच्च अधिकृतहरु रहेका छन् ।


