परीक्षण उडानमा गएको वाइडबडी जहाज रनवेमै अड्किएपछि
भैरहवा – परीक्षण उडानका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।
जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘एक ठाउँबाट मोड्नु पर्नेमा पाइलटले अर्कै ठाउँबाट मोड्नु भएछ, मोड पुगेन र जहाज अड्किएको छ ’ दाहालले भने ।
२० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो । काठमाडौंबाट अपराह्न ५ बजे उडेको विमान २७ मिनेट जाँदा विमानस्थल पुगे पनि विमानस्थलको एक फन्को मारेर मात्रै अवतरण गरेको थियो ।
तर रनवेमा मोड्न खोज्दा नमोडिएपछि करिब आधा घण्टा यतिकै बित्यो । सो क्रममा ह्यांगर ल्याएर तानेपछि मात्रै रनवेमा वाइडबडी मोडिएको थियो । भर्खरै तयार भएको विमानस्थलमा निगमको २७४ सिटे वाइडबडीले आज परीक्षण उडान गरेको हो । विमानस्थलमा जेठदेखि व्यावसायिक उडान गर्ने तयारी छ ।


