नगर प्रमुखका उम्मेदवार विष्ट दिनभर भेटघाटमा ब्यस्त
नेपालगन्ज २० बैशाख ः नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेससहित गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट मंगलबार दिनभर ईदको शुभकामना आदान प्रदानसँगै भेटघाटमा ब्यस्त हुनु भएको छ ।
मंगलबार बिहान विपी चोकस्थित ईदगाह परिसरबाट शुभकामना साटासाट गरेर निस्कनु भएका उहाँ दिनभर ब्यस्त हुनु भएको हो । उम्मेदवार विष्टलाई मुस्लिम समुदायका मतदाताले ईद मनाउन नेपालगन्जका विभिन्न ठाउँमा निम्तो गरेका थिए । मुस्लिम समुदायका अगुवाले आयोजना गरेका कार्यक्रममा उहाँ सहभागी हुनुभयो ।
त्यसक्रममा मुस्लिम समुदायका अगुवाहरुले विष्टलाई विजयी गराउन अल्लाह (भगवान)सँग आफुहरुले प्रार्थना गरेको बताउनु भएको थियो ।
‘नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा तपाई निर्वाचित भईसक्नु भयो, बैशाख ३० गते अब प्राविधिक रुपले घोषणा मात्रै हुनेछ,’ मुस्लिम समुदायका अगुवा एवम् संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी भोलाले भन्नुभयो । नगर प्रमुखका लागि प्रशान्त विष्ट नै योग्य र सक्षम उम्मेदवार भएको उहाँको भनाई थियो ।
नगर प्रमुखमा निर्वाचित भएपछि मुस्लिम समुदायको हितमा काम गर्नुपर्ने अधिकांसको सुझाव थियो ।
मुस्लिम समुदायका अगुवा तथा युवा मतादाताले विष्टप्रति आफूहरुको भरोसा र विश्वास रहेको बताउनु भएको थियो । सो क्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार विष्टले धार्मिक तथा सामाजिक सद्भावको नमुना शहर नेपालगन्जको विषयमा आफू सजग र सचेत रहेको बताउनु भयो । नेपालगन्जको सद्भावलाई कायम राख्न आफु निर्वाचित भइसकेपछि विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।
यहाँको धार्मिक सामाजिक सद्भावलाई जोगाई राख्न प्रत्येक नगरबासीको उत्तिकै महत्वपूर्ण जिम्मेवारी र भूमिका रहेकोले निर्वाचित भएपछि मुस्लिम समुदायका बालबालिका, युवा, महिला लगायतको स्वास्थ्य र शिक्षामा विशेष जोड दिने बताउनु भयो ।


