ढाका टोपी लाएर भारतीय गृहमन्त्रीले सम्झिए तेन्जिङ नोर्गे शेर्पालाई भने, भने- ‘हामी सबैका प्रेरणा स्रोत’
काठमाडौं । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तेन्जिङ नोर्गे शेर्पा प्रेरणाको स्रोत भएको बताएका छन् ।
२९ मे १९५३ मा न्युजिल्याण्डका एडमन्ड हिलारीसँगै पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका शेर्पालाई दार्जिलिङ भ्रमणमा रहेका गृहमन्त्री शाहले सम्झिएका हुन् ।
सोलुखुम्बुमा हुर्किएका शेर्पा काममा सिलसिलामा दार्जिलिङमा लामो समय विताएका थिए । एसियाबाट सगरमाथाको आरोहण गर्ने पहिलो व्यक्ति बनेका शेर्पाले पछि भारतको नागरिकता लिएका थिए ।
दार्जिलिङमा भारतले उनको सम्मानमा विशाल शालिक निर्माण गरेको छ । दार्जिलिङ यात्रामा रहेका भारतीय गृहमन्त्री शाहले बिहीबार शालिकमा माल्यार्पण गर्दै शेर्पा सबैको प्रेरणाको स्रोत भएको बताएका हुन् ।
ढाका टोपी लगाएर माल्यार्पण गर्न शालिक पुगेका शाहले आफ्नो फेसबुकमा पेजमा नेपाली भाषामै लेखेका छन्, ‘२९ मे १९५३ऽ एउटा नयाँ इतिहास रचिएको दिन। जब हाम्रो दार्जीलिङका तेन्जिङ्ग नोर्गे शेर्पा, न्युजिल्यान्डका सर एडमन्ड हिलेरीसँग सगरमाथाको चुचुरोमा पुग्ने पहिलो मानव बन्नुभएको थियो ।’
शेर्पा सबैका प्रेरणाको स्रोत भन्दै शाहले हार्दिक सम्मान एवं श्रद्धाञ्जली अर्पण गरेका छन् ।


