(नाटक समीक्षा) युद्ध सकियाे, घाउ पुरिए, ‘खत’ बाँकी छ
‘युद्ध सुरु गर्नुभन्दा पहिले माओवादीका नेताहरूले नेपाली समाजलाई यसरी अध्ययन गरेका थिए कि उनीहरू समाजशास्त्रका प्राध्यापक जस्ता लाग्थे ।’ माथिको हरफ प्रयोगशाला पुस्तकमा माओवादी ‘जनयुद्ध’को एक प्रसंगमा लेखक सुधीर शर्माले लेखेका हुन् ।
समाजशास्त्रका प्राध्यापक जस्ता लाग्ने तिनै माओवादीका नेताहरूले शास्त्र छोडेर शस्त्र निकाले । अनि माओवादीहरूसँग समाजशास्त्रको धङधङी मात्रै रह्यो । र पनि, निकै पछिसम्म माओवादीका नेता तथा कार्यकर्ताहरू गुरिल्ला कम तर सामाजिक इन्जिनियरको अवतारमा बढि मात्रामा गाउँघरमा भेटिन्थे ।
जब युद्ध हुन्छ, युद्धमा रगत बग्छ । रगत बग्न घाउ लाग्नै पर्छ । समयसँगै घाउहरू बिस्तारै पुरिन थाल्छन् । खत रहिरहन्छ । माओवादीको ‘जनयुद्ध’मा पनि घाउ लागे, रगत बगे । माओवादी विद्रोह सेलाएको धेरै भइसक्यो । त्यसले दिएका घाउहरू पनि पुरिदै जाँदैछन् । तर, खत रहिरहेको छ । खत कसैका शरिरमा मात्रै छैनन् । युद्धका खतहरू आममानिसको जीवनभर छन् । समाजका संरचना र मनोदशामा छन् । परिवर्तनका सपना र आदर्शहरूमा छन् ।
युद्धले बनाएका खतहरू मानिस र समूहपिच्छे फरक फरक छन् । प्रत्येकले आफ्ना भागमा परेका घाउका आफ्नै किसिमका खत बोकेर बाँचिरहेका छन् । एउटा नाटकमा त्यत्रो लामो युद्धका सम्पूर्ण खतहरू देखाउन सम्भव हुन्न तर सुलक्षण भारतीको लेखन निर्देशनमा पुरानो घर थिएटर, सिनामंगलमा प्रदर्शन भइरहेको नाटक खतले त्यो युद्धको निकै ठूलो अंश बोकेको छ ।
माओवादीले विद्रोह बिसाएको डेढ दशक भइसक्यो । विद्रोह बिसाएपछि जन्म लिएको पुस्ता आफ्नो योवनावस्था भोग्न थालेको छ । त्यो पुस्ताले मेरो देश किन यस्तो भइरहेछ सोध्न सक्ला । घाउ नदेखेको उसले समाजले बोकेको खतमाथि प्रश्न गर्न सक्ला वा संवेदनहीनताबोध गरिरहेको हुन सक्ला । वा पुस्तकमा पढेर वा सिनेमा हेरेर युद्धलाई रोमाञ्चक घटनाका रुपमा ‘फेन्टासी’ बोकिरहेको होला । यो नाटकमा तिनले पनि युद्धले कहिलै नमेटिने गरी बसाउने खत नजिकबाट नियालेर महसुस गर्ने छन् ।
नाटकभर युद्धको समय र सेरोफेरो छ । भव्य सेट र सेटको बिचमा दर्शकलाई राखेर गरिने अभिनयहरूले तपाईंलाई आफै युद्धको साक्षी भइरहेको अनुभव गराउँछ । माओवादी विद्रोह भोग्नु भएको हो भने तपाईं त्यहिँ बेलामा पुग्नु हुनेछ, जहाँ तपाईं सास दबाएर आवाज ननिकाली युद्धबाट जोगिन प्रयत्न गर्नुहुन्थ्यो ।
युद्धमा नपर्नु वा युद्धपछि जिउँदै रहनु अलग कुरा हो तर युद्धबाट कोही अछुतो रहन सक्दैन । युद्ध भोगेर आउनेले एकपटक फेरि र युद्ध नभोग्नेहरूले पनि नाटकभर र नाटक सकिएपछि पनि अनुभव गर्नेछन् ।
युद्धमा भएका बिष्फोटका आवाज मात्रै होइन, बिष्फोटका झिल्काहरू तपाईंको खुट्टा छेउ आइपुग्छन् । निर्देशक भारतीले नाटकमा यति महान् परिश्रम गरेका छन् कि तपाईं थिएटरबाट निस्केपछि उनको परिश्रमसँग कायल बन्नुहुनेछ । निर्देशक भारती भन्छन्, ‘हामी यहाँसम्म लाशैलाश टेकेर आएका हौँ ।’ निर्देशकको यो भनाइ तपाईंले वास्तविकतामा नै अनुभव गर्न पाउनुहुनेछ किनकी तपाईंले दर्शकका रुपमा पनि लाशहरू नाघ्दै हिँड्नुपर्ने अवस्था बन्छ ।
नाटक सुरु हुन्छ एउटा रोमान्टिक दृष्यबाट, जहाँ आफ्नी गर्भवति श्रीमतीसँग एक पुरुष युगल गीत सुन्दै र गाउँदै गरिरहेका हुन्छन् – नमान लाज यसरी कि बढ्छ ढुकढुकी मेरो । तर, पटकथाका खुल्दै जाँदा लाजभन्दा बढि खुल्छन् बेथिति, विभेद र असमानताका पत्रहरू अनि पो बढ्छ ढुकढुकी । त्यसपछि प्रश्न आउँछ, नाटकले माओवादी विद्रोहले बनाएको घाउको खत देखाउँदैछ कि सामाजिक असमानताले दिएको घाउको खत हो माओवादी विद्रोह भन्दैछ ? लामो जवाफ दुईटै पक्षबाट दिन सकिन्छ ।
दलित युवतीसँग प्रेमबिबाह गरेपछि गाउँमा टिक्न नसकेर एक जोडी गाउँ छोड्छन् । आफ्नो जायजेथा भएको गाउँभन्दा धेरै परको दुई पहाडको बिचमा झुपडी बनाउँछन् । त्यो गाविसको आधा भूभाग माओवादीको कब्जामा छ । र, बाँकी आधा भूभागमा श्री ५ को सरकारको ।
दुवै पक्षलाई ती दुईटै भूभाग आफ्नो बनाउन त्यहि बाटो हुँदै जानुपर्छ, जहाँ ती दम्पतिको झुपडी छ ।
शाही नेपाली सेना त्यहि बाटोलाई सबैभन्दा पहिले कब्जा गर्न चाहन्छ र माओवादी त्यो बाटोलाई आफ्नो कब्जामा राखिरहन चाहन्छ । यसैले दुई पहाडबीचको त्यो बाटो सामरिक महत्वको बन्छ । नाटकका सम्पूर्ण घटनाक्रम त्यहि झुपडीको सेरोफेरोमा चल्छन् । तर, त्यहाँ उपस्थित पात्रहरूको विगतले कथालाई त्यहि ठाउँमा बाँधेर राख्दैन ।
कोही कलेज पढ्दापढ्दै माओवादीसँग गएर गुमनाम भएको छ । कोही हलियाबाट मुक्त हुनका लागि माओवादी भएको छ । कोही आफ्नो दलित साथीलाई आफ्नो घरको प्रसाद खुवाउन नपाउँदाको विद्रोहका कारण सानैबाट घर छोडेर माओवादी बनेको छ । ती सबैका दु:ख छन् । ती सबैका विगतको कथाको अन्त्य दर्शकले पनि चाहन्छ कि बदलामा गएर पूरा होस् । तिनका मुक्तिका सपना पूरा नभएर ती मात्रै होइन, देश नै पछि पर्याे । ती कुनै पनि पात्र खलनायक होइनन् तर, तिनले ती सबैका लागि गोली दाक्नु पर्ने छाती छन् शाही नेपाली सेनाका जवानहरूको । ती पनि सोलोडोलो खलनायक छैनन् । तिनका पनि मानवीय संवेदना, सम्बन्ध र व्यक्तिगत जीवनका मानवीय घेराहरू छन् । गोली चलाउनु तिनको पनि रहर होइन ।
पात्रहरूको विगत र वर्तमानको फेहरिस्तपछि लाग्छ, देशभरिको अव्यवस्था, विभेद, अन्याय, बाध्यता र बदला त्यहि झुपडीको आँगनमा थुप्रिएको छ । तर, युद्धले कुन परिणाम दिन्छ भन्ने कसैको हातमा हुँदैन । कुन झिल्कोले कति जीवनमा डढेलो सल्काउँछ भन्ने कसैलाई अनुमान हुँदैन । नाटकमा युद्धमा सानो झिल्कोले ल्याउने भयावह परिणामलाई मर्मस्पर्शी किसिमले देखाइएको छ ।
नाटकमा व्यक्तिगत इवी साँध्नका लागि युद्ध प्रयोग भयो भन्ने पनि देख्न सकिन्छ । त्यस्तै, माओवादी र शाही नेपाली सेना दुवैतर्फका सिद्धान्त र व्यवहारमा भएका फरक पनि छर्लङ्ग हुन्छ ।
उदाहरणका लागि : शाही नेपाली सेनाका एक कर्णेलले आफ्नो सिपाही छोरोका लागि चिठ्ठी लेखेको हुन्छ, जसलाई कर्णेलको मृत्युको १४ दिनपछि मात्रै छोरोलाई दिइन्छ, त्यो पनि बाबुको मृत्युको खबरसहित । चिठ्ठीका केही हरफहरू यस्ता हुन्छन्- ‘आज तिम्रो अगाडि बन्दुक लिएर उभिएका ती माओवादी होइनन्, यो देशमा भ्रष्ट नेताहरूको चंगुलमा फसेका सोझासाधा नेपाली जनता हुन् । यसैले युद्ध धैर्य, साहस र स्नेहले लड्नु । पहिलो गोली आफूले नचलाउनु ।’ तर, स्नेहले युद्ध लड्ने र पहिलो गोली आफूले नचलाउने भन्ने कुरा व्यवहारिक रुपमा कति अमान्य हुन्छ भन्ने कुरा तत्कालै आउने दृष्यमा देखिन्छ । जहाँ एउटा गाउँले भनिएको व्यक्तिलाई छोडिदिएर चिठ्ठी पढ्ने उही कमान्डरले भन्छ, ‘अहिले छोडेर यसलाई पछि पासोमा पार्नु पर्छ । र, यो तरिका मृतक कर्णेलको हो ।’
त्यस्तै एक युद्धपछि माओवादी लडाकुहरू र शाही नेपाली सेनाका सिपाहीहरूका लाशहरू आँगनभरि र डाँडाहरूमा छरपस्ट बन्छन्, तब माओवादीको एक कमान्डरले लामो भाषण गर्छ । उसको भाषणको मर्म हुन्छ, ‘युद्धमा रगत बग्छ । रगत बगाएरै परिवर्तन आउँछ । हामीले युद्ध जितेका छौँ ।’ तर, त्यहि भाषण सकिँदा नसकिदै उसले देख्छ कि उसकै श्रीमती गोली लागेर मृत भई ढलेकी छ । तब उसको बोली फेरिन्छ र भन्छ, ‘यो मैले कस्तो जित जितेँ कमरेड ? मैले जितेँ कि हारेँ ? अनेकन परिवर्तनका सपनाहरूले डोहोर्याएर यहाँसम्म आएको थिएँ, अब यो परिवर्तन कसका लागि ?’

नाटकले युद्धमात्र देखाएको छैन । यसले समाजभित्रको विभेद र युद्धको कारणहरू मात्रै पहिल्याएको छैन । यसले माओवादी लडाकु तथा शाही नेपाली सेना भित्रका बिरोधाभाषहरू पनि देखाएको छ । अमुर्त परिवर्तनको नाममा मान्छे मार्न तयार पात्रहरू आफ्नो प्रेमका लागि आँशु बगाउँछन् । आफ्नो सम्बन्धको न्यानोपन सम्झिएर मन अमिलो पार्छन् । दुई मितहरूको भेट र युद्ध तथा दीपशिखाको प्रेमले यो बिरोधाभाष प्रस्ट देखाइएको छ । योसँगै नाटकले व्यक्तिभित्रका, व्यवस्थाभित्रका, सपना र आदर्शका घाउहरू देखाएको छ । आज आइपुग्दा त्यो घाउ पुरिएको छ तर, नेपाली समयभर त्यसका खतहरू लागेका छन् । नाटक त्यहि खतको बिस्कुन हो ।
नाटक हेरिरहँदा कुनै पनि दृष्य पट्यारलाग्दा लाग्दैनन् । अन्त्यलाई खुला छोडिदिएर निर्देशकले नाटकलाई थप रमाइलो बनाएका छन् । तर, पनि सम्पूर्णरुपमा कमजोरीरहीत नाटक भने यो होइन ।
नाटकलाई थ्रिडी भनिएको छ । सेटमा दुईतिर पहाडहरू नै ल्याएर राखिए झैँ लाग्छन् । जुटको बोराबाट बनाइएका ती पहाडहरू हाम्रै माटोको बास्ना बोकेका छन् । पात्रहरूले थालमा डुकुसँग भात नै खान्छन् । हात धुन पानी नै प्रयोग गर्छन् । यद्धमा बिष्फोट नै हुन्छ । बारुद नै पड्किन्छ र धुँवा नै उड्छ । यसले नाटकलाई थप जीवन्त बनाएको छ । तर, स-साना नै भए पनि केहि दृष्यलाई सांकेतिक बनाउँदा त्यो दृष्य नै नाटकको मर्म र ‘स्लोगन’सँग असंगत लाग्छन् । एक दृष्यमा घरको ढोका फोड्दा जुन संकेत गरिन्छ, त्यसको ठाउँमा पनि प्रोप्सको प्रयोग गर्न सकिन्थ्यो । डाँडाको टावर औँल्याउँदा त्यहाँ टावरकै दृष्य राख्न सकिन्थ्यो ।
कथामा केही नमिलेको जस्तो अनुभव हुन्छ । हरेक जसो माओवादी लडाकुहरूबारे जानकारी राखेको शाही नेपाली सेनाले त्यो कमान्डरका बारेमा किन केही जानकारी राखेन ? यो प्रश्नको जवाफ कतै पनि नाटकमा छैन । त्यस्तै, गाउँ पुर्याइएकी कमान्डरकी पत्नी किन झुपडीमा नै फर्की भन्ने बारेमा नाटकले कतै केही बोलेको छैन ।
अन्तिममा जबरजस्ती कथालाई माग्न लगाए झै लाग्छ । अनि, कमान्डरले आफ्नो परिवार झुपडीमा भएको थाहा नपाउनु सान्दर्भिक लाग्दैन । युद्धलाई नजिकैबाट देखेर त्यत्रो भूमिगत जीवन बाँचिरहेको कमान्डर आफ्नो परिवारप्रति बढि सजग भएको देखाउनुपर्थ्यो । परिवारप्रतिको उसको गाम्भिर्य अन्तिम दृष्यबाट झन् पुष्टि हुन्छ तर, झुपडीमा भएको थाहा नपाएको प्रसंगले भने कथालाई न्याय गर्दैन । अन्तिमतिरको दृष्यमा कमान्डरले आफ्नो लडाकुको खुट्टामा समातेर ‘मैले जितेँ कि हारेँ ?’ भने सँगै नाटक सकिनुपर्ने हो । अन्तिमको दृष्यले नाटकको सारमा फरक पारे जस्तो लाग्दैन ।
तर, नाटक यति भव्य र वास्तविक लाग्छ कि थिएटरबाट निस्किँदै गर्दा कसैले पनि नाटकका कमजोरीहरू सायदै खोतलेर बस्छ ।
यो नाटक एक समयको नाटक हो । सबै नाटकहरूको पूर्णता दर्शकले हेरेपछि मात्र प्राप्त हुन्छ । अझ यस्ता नाटकहरू त औपचारिकताका लागि मात्रै नभएर समय जान्नका लागि पनि एक पल्ट हेर्नै पर्ने नाटकहरू हुन् ।
नाटकको निर्माण पक्षले आफ्नो सम्पूर्ण ऊर्जा नाटक निर्माणमा खर्च गरेर ‘पब्लिसिटी’का लागि केही बाँकी नगरे जस्तो महसुस हुन्छ । युट्युबमा ट्रेलर राखेर मात्रै ‘पब्लिसिटी’ हुन्न, अरु नै माध्यमबाट पनि धेरैभन्दा धेरै मान्छेसम्म यो नाटकको जानकारी पुर्याउनुपर्छ भन्नेमा निर्माण पक्ष चुकेको छ । यसैले थिएटरका सिटहरू अझै पनि खाली थिए । तर, सँगसँगै निर्माणपक्षको जित पनि के हो भने त्यहाँ दोस्रो पटक नाटक हेर्न पुगेका दर्शक पनि भेटिए ।
यहि नाटक दोस्रो पटक हेरेर बाहिर निस्किएका एक दर्शक शर्माजी भन्दै थिए, ‘जति पटक पनि हेर्न सकिने र एक पल्ट त हेर्नै पर्ने नाटक हो खत ।’ शिलापत्र बाट
तस्वीर: पुरानाे घरकाे फेसबुक पेजबाट


