पाँच वर्ष खेर फालेको कम्युनिस्टलाई गगनको काउन्टर, अब जनताले अनुभूत हुनेगरी सेवा दिन कांग्रेस आउने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जिते अबको पाँच वर्ष बितेको पाँच वर्षजस्तो निराशाजनक परिस्थिति नआउने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’विषयक कार्यक्रममा नेता थापाले अबको पाँच वर्ष विगतको जस्तो हुन नदिने जिकिर गरे ।
‘अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ । स्रोत साधनको दुरुपयोग हुन नदिन तथा सुशासन, पारदर्शिता अपनाउन मूलभूत ११ वटा मापदण्डका आधारमा स्थानीय संयन्त्र परिचालनको अवधारणा अघि सारिएको छ । यसले अबको पाँच वर्ष के गर्ने भन्ने प्रष्ट खाका तयार गरेको छ,’उनले भने ।
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ छ । थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेस नेतृत्वको खाँचो रहेको औंल्याए ।
महामन्त्री थापाले संविधानको मौलिक हकमार्फत जनतामा गरेको वाचाको पूर्ण कार्यान्वयन गर्न कांग्रेसले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताए ।


