जानकीमा कांग्रेसको शक्ति प्रदर्शन छब्बन खाँ-‘भन्छन् जीतको सुरुवात भइसक्यो’
जानकी, बैशाख । बाँकेको जानकी गाउँपालिका मधेसी समुदाय बढी भएको पालिका हो । जहाँ वैशाख ३० गते हुने स्थानीय चुनावका लागि सबै दलहरुले व्यापकरुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।
जानकीमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छब्बन खाँ र उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादवको प्रभाव राम्रो देखिएको छ । पाँच बर्ष स्थानीय सरकारबाट बाहिर रहेर जनतासँग घुलमिल भएका कारण चुनावी माहोल आफ्नै पक्षमा रहेको कांग्रेस उम्मेदवारहरु बताउँछन् ।
पालिकामा रहेका सबै वडाको घर–घरमा चुनावी प्रचारका लागि कांग्रेस उम्मेदवारहरु पुगिसकेका छन् । जानकीवासीसँग उनीहरुका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवारहरुले घरदैलो गरिसकेका छन् । उम्मेदवारहरुले सुखी र समृद्ध जानकी बनाउन कांग्रेसलाई अत्याधिक बहुमतका साथ विजयी बनाउन आग्रह गरेका छन् । दिनहुँ घरदैलो, कोणसभा र ¥याली लगायतका गतिविधि गरिरहेका कांग्रेस उम्मेदवारहरुले बेला बेलामा शक्ति प्रदर्शन समेत गरिरहेका छन् ।
यसैक्रममा चुनावका लागि अब ४ दिन मात्र बाँकी रहँदा आज नेपाली कांग्रेसका उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेका छन् । मोटरसाइकल, रिक्सा, गाडीसहित कांग्रेस उम्मेदवारहरुले पालिकाभर शक्ति प्रदर्शन गरेका हुन् । अध्यक्षका उम्मेदवार खाँले आज देखिएको जनताको उपस्थिति शक्ति प्रदर्शन मात्र नभई जीतको सुरुवात भएको बताए । उनले यो पटक कांग्रेसलाई जिताउन जानकीवासी आफैं लागिपरेको र शक्ति प्रदर्शनमा जनताको ठूलो सहभागिता रहको बताए ।
उपाध्यक्षकी उम्मेदवार यादवले कांग्रेसलाई जानकीमा कुनै पनि पार्टीले हराउन नसक्ने बताइन् । उनले जनताको घर–घरमा पुग्ने क्रममा जनताले जानकीको विकासका लागि कांग्रेसले नै जित्नुपर्ने बताउँदै आएको बताइन् ।
आज शक्ति प्रदर्शनका क्रममा ५ सयको हाराहारी स्थानीय, कांग्रेस नेता कार्यकर्ता एबम् शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । जानकी गाउँपालिकाको ६ वटै वडामा शक्ति प्रदर्शन गरिएको हो ।


