१४ मंसिर २०८३, आईतवार

मोदीको भ्रमण तयारी सामान र सुरक्षाकर्मी लिएर गौतमबुद्ध विमानस्थलमा ओर्लियो भारतीय वायुसेवाको विमान

एसीपी संवाददाता

२८ बैशाख २०७९, बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ २ गते हुने लुम्बिनी भ्रमणको तयारीका लागि विशेष सुरक्षा दस्ता लिएर वायुसेवा विमान बुधबार विहान गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा २५६६औं बुद्ध जयन्ती मनाउन मोदी जेठ २ गते हेलिकोप्टरमार्फत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदैछन् ।

मोदी भ्रमणको सुरक्षा तथा अन्य तयारीका लागि वायुसेवा विमानमार्फत सुरक्षा अधिकारी र सवारी साधन तथा अन्य साम्रगीहरु बोकेर वायुसेवाको विमान आएको गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए। विहान आएको भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमानमा मोदीसहित भारतीय अधिकारीले प्रयोग गर्ने गाडीसमेत ल्याइएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाजको परीक्षण उडानपछि गौतमबुद्ध विमानस्थलमा भारतीय वायुसेना विमानले गरेको उडान पहिलो अन्तर्राष्ट्रिय उडान भएको उनले बताए । उनकाअनुसार विमानस्थलमा भारतीय अधिकारीलाई स्वागत गरिएको थियो । भारतीय वायुसेवा विमान आजै स्वदेश फर्किनेछ ।

लुम्बिनीमा मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । मोदी हेलिकोप्टरमा आउने भएपछि यहाँ चार वटा हेलिप्याड निर्माण गरिँदैछ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष त्रिपाठीका अनुसार पाँच हजार क्षमताको हलमा उपस्थितलाई मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त समारोहमा नेपालमा हरेका सबै देशका राजदूत पनि सहभागी हुनेछन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले डेढ विघा क्षेत्रफलमा निर्माण भएको भारतीय मठको लोकार्पण गर्ने कार्यक्रम छ ।

लुम्बिनी आइसकेपछि भारतीय प्रधानमन्त्री मोदीले सबैभन्दा पहिला मायादेवी मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि मन्दिर परिसरमै रहेको अशोक स्तम्भ अगाडि दीप प्रज्वलन गर्नेछन् । त्यसपछि भारतले निर्माण गरिदिएको बौद्ध बिहार मन्दिर शिलान्यास गर्नेछन् । यसपछि मोदीले त्यहाँ उपस्थित पाहुनाहरुलाई सम्बोधन गर्नेछन् । बुद्ध जयन्तीको शुभकामना दिनेछन् ।

सम्बोधनपछि मोदी र नेपालका प्रधानमन्त्री देउवाले संयुक्त पत्रकार सम्मेलन गर्नसक्ने सम्भावना छ । लुम्बिनीमा मायादेवी मन्दिर र अखण्ड ज्योति दर्शन तथा सम्बोधनपछि मोदी उत्तरप्रदेशको कुशीनगर फर्किनेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x