भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको सम्पूर्ण तयारी पूरा, देउवासँग वान टु वान वार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी पूरा भएको छ ।
मोदी भोलि जेठ २ गते बुद्ध जयन्तीका अवसरमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउँदैछ ।
भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मोदी नयाँ दिल्लीबाट कुशीनगर हुँदै हेलिकोप्टरमा लुम्बिनीमा ओर्लिनेछन् । मोदीको स्वागतका लागि लुम्बिनीलाई सजावट गरिएको छ । बाटोभरी भारतका प्रधानमन्त्री मोदीलाई स्वागत छ ब्यानर तथा नेपाल र भारतका झण्डा राखिएको छ ।
मोदीले भोलि मायादेवीको मन्दिर दर्शन तथा पूजाअर्चना र भारतले बनाइदिन लागेको बौद्ध विहारको शिलान्यास गर्नेछन् । त्यसैगरी बुद्ध जयन्ती समारोहमा उपस्थित पाहुनालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग वान टु वान वार्ता गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवाले भारतीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


