बुटवल-गोरखपुर प्रसारण लाइनको कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले न्यु बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तर्राष्ट्रिय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानीका लागि स्वीकृति पाएको छ ।
भारत सरकारले प्रसारण लाइन आयोजनाका लागि भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको छ । न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इण्डिया लिमिटेडको ५०/५० प्रतिशत सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना हुनेछ । नेपालतर्फको प्रसारण लाइन भने प्राधिकरण आफैंले गर्नेछ । नवलपरासीको सुनवल नगरपालिका–१३ मा रहेको न्यु बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइन करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।


