महिला अधिकार, लैंगिक समानता तथा मानवअधिकार सवालमा खेलेको महत्वपूर्ण भूमिकाबाट प्रफुल्लित जियाले आरजुको प्रशंसा गरेकी हुन् । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार संयोजक जिया आरजुको कामबाट प्रभावितसमेत भएकी छन् ।
आइतबार विहान बालुवाटारमा आरजुसँग छुट्टै भेट गरेर उच्च महत्व दिएकी जियाले ट्वीट गर्दै अमेरिकी विदेश नीतिको आधारशिला रहेको महिला तथा बालिकाहरुको अधिकारलाई अगाडि बढाउने अभियानमा अग्रपंक्तिमा रहेको भन्दै आरजुको प्रशंसा गरेकी छन् । ‘नेपालमा लैंगिक समानता र अन्य समानताका लागि प्रखर अभियन्ता प्रथम महिला डा. आरजु देउवालाई भेट्न पाउँदा सम्मानित महसुस गरेकी छु,’ जियाले भनेकी छन्, ‘महिला सशक्तिकरण आर्थिक सुरक्षा र सफल लोकतन्त्रका लागि प्रमुख तत्व हो ।’
आरजुले पनि अमेरिकी उपविदेशमन्त्री जियासँग भेट गर्न पाउँदा खुसी लागेको बताएकी छन् । भेटमा महिला सशक्तिकरण, मानवअधिकार, जलवायु परिवर्तन, खाद्य असुरक्षा र अन्य विकासका मुद्दाहरूको बारेमा छलफल भएको उल्लेख गरेकी छन् । तीन दिने भ्रमण सकेर अमेरिकी उपमन्त्री जिया स्वदेश फर्किएकी छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसँग भेट गरेकी थिइन् । जावलाखेलमा तिब्बती शरणार्थी पनि भेटेकी थिइन् ।