युनियनमा २०७ जना सदस्य छन् भन्ने सुन्दैछु, यहाँ १० जना पनि किन छैनन्ः राठौर
नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाल प्रेस युनियन बाँकेको स्थापना दिवसमा युनियन सम्बद्ध पत्रकारहरुको उपस्थितिका विषयमा तिखो टिप्पणी गरेका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले आज अपरान्ह नेपालगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले युनियन सम्बद्ध पत्रकारहरुको अत्यन्त कमजोर उपस्थिति देखेपछि तिखो टिप्पणी गरेका हुन् । “मैले सुन्दैछु, युनियनका सदस्यहरु नै २०७ जना छन् रे, तर, यहाँ १० जना पनि देख्दैन, सबै पार्टीका साथीहरु देखिरहेको छु, यसरी कसरी संगठन चल्छ,” राठौरले भने । उनले पार्टीका भ्रातृ र शुभेच्छुक संगठनहरु सही तरिकाले परिचालन हुन नसकेको बताए ।
सहमहामन्त्री राठौरले जिल्लामा वडाको टिकट सही तरिकाले वितरण नगरिँदा केही पालिकाका वडाहरुमा लज्जास्पद हार व्यहार्नुपरेको तर्फ इंगित गर्दै यसमा गम्भीर समीक्षा जरुरी रहेको बताए । “पैसा खाएर टिकट दिने, आफ्ना नाता-गोतालाई टिकट दिने अनि कसरी जितिन्छ, केन्द्रले यसको जरुर समीक्षा गर्छ,” राठौरले भने ।
कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल लगातयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीका अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राठौर, विशिष्ट अतिथि बाल्मिकी, कांग्रेस जिल्ला सभापति गौडेल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम केसी लगायत अतिथिहरुले संयुक्तरुपमा २०७९ को भित्तेपात्रो विमोचन गरेका थिए ।


