१४ मंसिर २०८३, आईतवार

स्वार्थी प्रचण्डको काङ्ग्रेस सङ बर्गेनिङ शुरु

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०१:४१ मा प्रकाशित

काठमाडौं । स्थानीय तहको चुनाव सकिएसँगै सरकारले प्रदेश र संघको चुनाव गर्ने तयारी गरेको छ । आउँदो कात्तिक वा मंसिरमा प्रदेश र संघको चुनाव गर्ने तयारी थालिएको हो । सरकारको त्यो तयारीसँगै स्थानीय तहमा जस्तै संघ र प्रदेशको चुनावमा पनि सत्तारुढ दलको गठबन्धन कायमैं राख्ने विषयमा पनि विविध कोणबाट छलफल शुरु भएको छ ।

सत्तासिन दलहरुको बैठकभित्र पनि यसबारेमा बहस तथा छलफल शुरु भएको छ । करिब २८ प्रतिशत स्थानीय तहमा सत्तासिन दलहरुले चुनावी गठबन्धन गरेका थिए । जो जहाँ जो बलियो छ, त्यहाँ उसैका बिरुद्ध गठबन्धन बनाउने गरी गठबन्धन भएको थियो । त्यसो हुँदा सत्तारुढ गठबन्धनको २८ प्रतिशत स्थानीय तहमा गठबन्धन भएको देखिएको छ । कतिपय स्थानमा कांग्रेस र एमाले मिलेर माओवादी हराउन गठबन्धन पनि भएको थियो, कतिपयमा कांग्रेस हराउन एमाले र माओवादीका बीचमा गठबन्धन पनि भएको थियो । तर अहिले यो गठबन्धन कायम रहने कि नरहने भन्ने बारेमा चर्चा र चासो बढेको छ ।

बुधबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई धम्की दिएपछि यसबारेमा निकै चासो र चर्चा शुरु भएको हाे । निर्वाचन आयोगले मंसिर २२ सम्म मात्रै अहिलेको प्रतिनिधिसभाको आयु हुने भनेपनि सरकारले त्यसअघि नै चुनाव घोषणा गरेर अघि बढ्ने तयारी थालेको छ ।

कतिपयले मंसिर त कतिपयले फागुनसम्म प्रतिनिधिसभाको कार्यकाल रहने भनी बहस गरिरहेका बेला सरकार एककदम अघि बढेको हो । सत्तारुढ दलका आन्तरिक बैठकहरुमा यस बारेमा छलफल शुरु भएको छ । हिमाली जिल्लाहरुमा मंसिरमा जाडो बढिसक्ने र हिमपात हुने भएकाले त्यस अगाडि कात्तिक अन्तिमसम्ममा चुनाव गराउनु पर्ने मत पनि गठबन्धन बैठकभित्र उठेको थियो ।

यद्यपि यससम्बन्धमा सत्तारुढ दलले ठोस निर्णय लिईसकेको छैन । स्थानीय तह निर्वाचनले माओवादीलाई उत्साह पैदा गरेपछि यतिबेला माओवादीले कांग्रेससँग बलियो बार्गेनिङ गर्ने भएको छ । ‘अहिले हाम्रो बार्गेनिङ पावर बढेको छ’, माओवादीका एक नेताले भने । उनका अनुसार यतिबेला माओवादीले जोसँग गठबन्धन गरेपनि दुई वटा पद सुरक्षित गरेर मात्रै गठबन्धन गर्ने जनाएको छ ।

अघिल्लो पटक एमालेसँग गठबन्धन गर्दा माओवादीले प्रधानमन्त्रीमा आधा-आधा कार्यकाल र सभामुख लिएको थियो । तर एमालेले सभामुख दियो, प्रधानमन्त्री वा आधा आधा कार्यकाल भने दिएन । त्यहीकारण विवाद बढ्दै जाँदा पार्टी विभाजनको अवस्थामा पुगेको थियो । ‘पहिला हामीले धोका पायौ, त्यसबाट हामीले धेरै पाठ सिकेका छौ, अब भने सरकार जसले बनाउँछ उसले प्रधानमन्त्री पाउने हो, त्यसपछि राष्ट्रपति र सभामुख गठबन्धनमा रहेको दलले पाउने गरी सहमति गर्नुपछ’, माओवादीका एक नेताले भने । उनका अनुसार अहिले कांग्रेससँग माओवादीले राष्ट्रपति र सभामुख दुवै पद मागिरहेको छ ।

‘गठबन्धन जोगाउने र पाँच वर्ष सरकार चलाउने हो, यी विषयमा सहमति हुनु आवश्यक छ’, ती नेताले भने । यतिबेला चुनावमा जिताउने र हराउने शक्तिका रुपमा माओवादीसँग मत रहेको स्थानीय तह निर्वाचनले प्रष्ट देखाएको भन्दै ती नेताले अबको गठबन्धन निकै कसिलो हुने दावी गरे । कांग्रेस कात्तिकभित्रै चुनाव गराउने भित्री तयारीमा छ । स्थानीय तह निर्वाचनमा ३२९ पालिका जितेर ठूलो दल बनेको कांग्रेसले ढिलो गर्दा चुनावी समिकरण र गठबन्धन अर्कोतिर मोडिनसक्ने सोचेर छिटो चुनाव गराउने पक्षमा छ । गठबन्धन भित्र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि कात्तिक अनितमसम्म चुनाव गर्नुपर्ने प्रस्ताव नै राखेका छन् ।

माओवादीको यसमा खास विमति छैन । तर यही बीचमा माओवादीका अध्यक्ष प्रचण्डले माओवादीलाई कमजोर शक्ति नठान्न भन्दै कांग्रेसलाई गठबन्धनबाट भाग्न छुट नभएको र दम्भी र घमण्डी बन्न नहुने धारणा राखेर कांग्रेसलाई चिढ्याएका छन् । जसले गर्दा कांग्रेसभित्र पनि यसबारे समीक्षा हुने बताइएको छ ।

उता माओवादीले अहिले जति संख्यामा पार्टीहरु छन्, उनीहरुले प्रत्यक्षमा जितेका स्थानमा केही आवश्यक हेरफेर गरेर भएपनि त्यही सिट बाँडफाँड मिलाउने र एमालेले जितेको प्रत्यक्ष तर्फका सिटमा भने कांग्रेसले अधिक लिएर केही सिट अन्य गठबन्धनको दललाई दिएर गठबन्धनमा जानु पर्नेमा देखिएको छ । त्यसोगर्दा करिब प्रत्यक्ष तर्फको करिब ९० देखि एक सय सिटमा कांग्रेसले दावी गर्ने र बाँकी ७५ देखि ६५ सिटमा गठबन्धनमा रहेका दललाई मिलाउने गरी तयारीमा कांग्रेस रहेपनि माओवादीले त्यसमा सहमति जनाउने अवस्था छैन । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x