१४ मंसिर २०८३, आईतवार

कांग्रेसको राजनीतिमा उदाउँदै युवा नेता विकाश, राष्ट्रिय अन्तर्राष्ट्रिय पहुँचमा छन् निकै अब्बल

एसीपी संवाददाता

२० जेष्ठ २०७९, शुक्रबार ०३:५० मा प्रकाशित

नेपाली राजनीति र पत्रकारिता क्षेत्रमा विकाश कुमार ठाकुर नौलो नाम हैन । चुनौतीसँग खेल्ने, सामना गर्ने उनको पहिचान हो । अभिव्यक्ति स्वतन्त्रताका लागि उनी जेलसमेत परेका छन् । सर्लाही घर भएका ठाकुरले विगत एक दशक बढी समयदेखि राजधानी काठमाडौं मुकाम बनाएका छन् । संघर्षबाट उदाएर उनी प्रमुख दल नेपाली कांग्रेसमा प्रभाव राख्ने ठाउँमा पुगेका छन् । जसरी राजनीतिमा बालेन्द्र शाह र हर्क गुरुङजस्ता युवाहरु उदाइरहेका छन्, त्यसैगरी कांग्रेसको राजनीतिभित्र ठाकुर ओकालो लागिरहेका छन् ।

राज्यको उपेक्षामा रहेको मधेस प्रदेशको सर्लाहीको सानो गाउँदेखि राजधानीसम्मको संघर्षको सफरमा ठाकुरले आफ्नो समाजसेवा तथा सहयोगी भावनाबाट सबैको मन जितेर राजनीतिक करियरलाई अगाडि बढाइरहेका छन् । प्रमुख दल कांग्रेसमा स्थान बनाएका छन् ।

हिन्दुवादी युवा अभियन्ता ठाकुर नेपाल फाउण्डेसन नामका संस्था पनि सञ्चालन गर्छन् । जसले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको छ । ठाकुरले नेपालको पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्‍याएका छन् । धर्ममाथि प्रहार गर्ने संगठित अभियान र विभिन्न स्वार्थ समूहबाट फिजाइएका भ्रम चिर्न उनले आफ्नै नेतृत्वमा अनलाइन पत्रिकासमेत सञ्चालन गरेका छन् । नेपाल पाना नामक अनलाइन उनकै अभिभावकत्वमा सञ्चालन भइरहेको छ ।

ठाकुर धार्मिक गतिविधिमा एकदमै अगाडि छन् । उनले नेपालको सनातन धर्मलाई भारतलगायत देशसँग जोड्ने काम गर्दै आएका छन् । उनी आफै पनि भारतको काशी, बनारसदेखि विभिन्न धार्मिक गन्तव्यमा पुगेर नेपालको पशुपतिनाथदेखि मुक्तिनाथसम्म तीर्थस्थलको प्रवर्द्धन गरेका छन् ।

नेपालको भू-राजनीतिक संवेदनशीलता बुझेका ठाकुर विश्वका हिन्दुहरुको आस्थाको केन्द्र बनेर नेपालले फाइदा लिनुपर्ने धारणा राख्दै आएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा दख्खल राख्ने र विकसित घटनाक्रमलाई सुक्ष्म आकंलन गरेर रणनीति बनाउन सक्ने ठाकुरले बेला बेला आफ्नो लेख रचनामार्फत शक्ति केन्द्रहरुको भण्डाफोर गर्दै आएका छन् । नेपालमा सनातन धर्म संस्कृति जोगाउन उनले भूमिका खेल्दै आएका छन् ।

पछिल्लो समय भने ठाकुर पूर्णरुपमा राजनीतिमा होमिएका छन् । नेपाली कांग्रेसमा युवा नेताका रुपमा चिनिँदै गएका ठाकुर जिल्लाको राजनीतितिर केन्द्रीत भएका छन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उनले गृहजिल्ला सर्लाहीमा पार्टीलाई सुखद नतिजा दिलाउन रणनीतिक रुपमा योगदान गरेका छन् । उनीसहित नेतृत्वको रणनीतिले १२ पालिकामा कांग्रेसलाई सफलता दिलाउँदै जिल्लामा पहिलो पार्टी बनायो । उनको रणनीतिक कौशलले जिल्ला नेतृत्वलाई नै प्रभावित बनाएको छ । त्यसैले त नेतृत्वले उनलाई कांग्रेसको उदाउँदो तारा भनेर महत्व दिएको छ । जिल्ला यथावत् गुटबन्दीलाई चिरेर एकढिक्का बनाउन नेतृत्वलाई सहयोग गरेर ठाकुरले आफूलाई पुन एकपटक प्रमाणित गरेका छन् ।

आटेको कुरा हरहालतमा गर्ने र नयाँ नयाँ चुनौतीमा खेल्ने ठाकुरले आफ्नो क्षमता गृहजिल्ला सर्लाहीमा देखाएपछि उनलाई कांग्रेसको राजनीतिमा उदाउँदो युवाका रुपमा हेरिन थालिएको छ । शालिन र सहयोगी व्यवहार र केन्द्रमा शक्ति केन्द्रसँग सिधा पहुँच भएका प्रभावशाली नेता ठाकुर चाँडै नै कांग्रेसको निर्णायक ठाउँमा पुग्न लागेको पार्टीका समकालीन नेताहरु बताउँछन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x