१४ मंसिर २०८३, आईतवार

१७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो

एसीपी संवाददाता

२३ जेष्ठ २०७९, सोमबार ०१:५२ मा प्रकाशित

चितवन- बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ। माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ। १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन्। चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ। माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ।

तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए। नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा विरगती प्राप्त गरेका थिए।

विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन्। विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए।

१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो। सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए।

मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ। एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो। दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन्।

घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्ने भन्दा बढ्दै गएको पीडित यमकला चुवाई बताउँछिन्। घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो। घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन्। तर, छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन्।

‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो। अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन। दाहिने खुट्टा भाँचिएर रड राखेको छ।’

उनको हातका औँला काटिएको छ। अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन्। उनका तीन छोरी, एक छोरा र श्रीमान छन्। बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन् । उनी कक्षा ११ मा पढ्दै छिन्।

अर्का दुई छोरी १८ वर्ष नाघिसके। स्नातक तहमा पढ्छन्। १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उनले बताइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x