नेपालगन्जको जमुनाहबाट ब्राउनसुगरसहित चार जना पक्राउ
नेपालगन्ज । नेपालगन्जको जमुनाह नाकाबाट आज लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका २ कठोरपुरका २२ वर्षीय श्रवण सुनार, अछाम तुर्माखाद ८ धमालीका २२ वर्षीय नवीन विष्ट, भारत बहराइचका २१ वर्षीय बब्बु घोसी र २२ वर्षीय राहुल शाही रहेका छन् । सुनार र विष्ट सवार भे ६ प ९७७३ नम्वरको स्कुटीलाई जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।
लागूऔषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा शाहीको पाइन्टको बायाँ खल्तीमा ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिएका छन् । त्यस्तै उनीहरुको साथबाट तराजु समेत फेला परेको छ । सुनार र शाही कारोवारी रहेको खुलेको छ ।
उनीहरुले ब्राउनसुगर विष्ट र घोसीलाई विक्री गर्न ल्याएको भनेर बयान दिएपछि उनीहरु पनि प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


