आफ्नै पार्टीका मन्त्रीलाई कार्यकक्षमै झम्टिए जसपा सांसदले, छुट्याउन हतार हतार पुग्यो प्रहरी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ माथि सिंहदरबार मन्त्री कक्षमै आक्रमणको प्रयास भएको छ ।
जसपाबाट मन्त्री बनेका श्रेष्ठ माथि सो पार्टीकै सांसद रामबाबू यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै भौतिक हमलामा उत्रेका थिए । मन्त्री श्रेष्ठलाई उनका पीएसओले बचाएका थिए ।
जसपाका निलम्बित सांसद हरिनारायण रौनियार संगै मन्त्रीको कार्यकक्षमा यादवले मन्त्री श्रेष्ठमाथि जाइलागेका हुन् ।
जसपाको मधेश प्रदेश अध्यक्षसमेत रहेका रामबाबू यादवले मन्त्री राजेन्द्र श्रेष्ठ माथि मधेशको बजेट वितरण र कर्मचारी सरूवा बढुवामा भेदभाव गरेको आरोप लगाएका थिए ।
मधेशबाट आएको भोटले समानुपातिक सांसद बन्ने अनि मधेशलाईनै बजेटमा भेदभाव गर्ने भन्दै मन्त्री माथि जाई लागेका थिए। सांसद र मन्त्रीबीच चर्का चर्की बढ्दै गए पछि अवस्था गम्भीर भएको थियो र सांसद यादवले आफू बसेको कुर्सी बाट उठेर मन्त्री बसेको टेबलमा राखेको पानीको बोतलले मन्त्री राजेन्द्र श्रेष्ठको टाउकोमा हान्नै लाग्दा मन्त्रीका पीएसओ (नेपाली सेना) ले सांसद यादवलाई पछाडि बाट समातेका थिए ।
पछि मन्त्रीको सचिवालयले प्रहरीलाई खबर गरेका थिए । हतार हतार प्रहरी घटनास्थल पुगेको थियो ।


