नारायण गौडेललाई पहिलो बलमा छक्का, लामो पारीको सुखद् सन्देश
नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले पालिका चुनावमा ऐतिहासिक जीत हासिल गरेको छ । बहुदलपछि काँग्रेसले बाँकेमा सबैभन्दा ठूलो सफलता हात पारेको हो । जिल्लाका आठ वटा पालिकामध्ये पाँच वटा पालिकामा प्रमुख र उपप्रमुख जितेको काँग्रेसले दुई वटा पालिकामा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । एउटा पालिकामा अध्यक्ष र उपाध्यक्ष पद गुमाएपनि कार्यपालिकामा भने काँग्रेसले स्पष्ट वहुमत हासिल गरेको छ । जिल्ला समन्वय समितिमा पनि काँग्रेसले स्पष्ट बहुमत ल्याएको छ ।
कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुखमा जित हासिल गर्दा नेपालगञ्जमा प्रमुख र खजुरामा उपप्रमुखमा जित निकाल्यो । नेपालगञ्ज र खजुरामा काँग्रेसले गठबन्धन गरेर चुनाव लडेको थियो । नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद गुमाए पनि ६ वटा वडा मध्ये ४ वटा वडामा जित निकालेको छ । यस्तै जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित काँग्रेसले वहुमत सहितको जीत निकालेको छ ।
‘पार्टी सभापतिको निर्वाचनमा मेरो एउटै चुनावी नारा थियो,’ पार्टी सभापति नारायणप्रसाद गौडेलले भनेका थिए–‘सभापतिमा मलाई जिताउनुहोस् पालिका जिताउने काम मेरो । आज सबै पालिकामा काँग्रेसको चार तारे झण्डा फहराएको छ । मेरो सपना मात्र पूरा भएको छैन, बाँकेका हरेक काँग्रेसीको सपना पूरा भएको छ ।’ काँग्रेसको जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार छँदा गौडेलले स्थानीय पालिकामा काँग्रेसलाई पुरानै शाखमा फर्काउने आफ्नो एउटै अर्जुन दृष्टि रहेको बताउने गरेका थिए ।
अघिल्लो निर्वाचनमा काँग्रेसले डुडुवा र राप्तीसोनारी बाहेक अन्य सबै पालिकामा नेतृत्व गुमाएको थियो । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा उपप्रमुख जिते पनि प्रमुख भने काँग्रेसले गुमाएको थियो । गौडेल नेतृत्वको काँग्रेस जिल्ला कार्यसमितिले यो पटक भने जिल्लालाई काँग्रेसमय बनाइदिएको छ । निकै चुनौति र अफ्ठयारो परिस्थितिलाई छिचोल्दै काँग्रेस बाँकेको कमाण्ड सम्हालेका गौडेलले पहिलो बलमै छक्का प्रहार गरेर काँग्रेसीलाई उत्साहित पारेका छन् । र, क्रिजमा टिकेर अझै चौका र छक्काका वर्षा गर्न सक्ने सन्देश समेत दिएका छन् । किनकि आसन्न प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा काँग्रेसलाई जिताउन उनको काँधमा अर्को ठूलो जिम्मेवारी र चुनौति दुवै छ । त्यसैले उनलाई अझै लामो पारी खेल्नुछ ।
‘अव हाम्रो सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन्छ,’ उनले भने–‘जसरी स्थानीय तहमा तल्लो कमिटीदेखि माथिल्लो कमिटीका नेता तथा कार्यकर्ताहरु खटिएर परिणाम ल्याउनुभयो, त्यसैगरी प्रदेश र संघमा पनि ल्याउनुपर्छ ।’ उनले स्थानीय तहको निर्वाचनमा काँग्रेस जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मतदाता, ग्रामीण क्षेत्रमा खटिएर काम गर्ने पार्टीका कार्यकर्ता, गाउँ, नगर, क्षेत्र, जिल्लामा रहेर अहोरात्र खटिका नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गरेका छन् । ‘जीत होस् वा हार स्वभाविकरुपमा नेतृत्वमा बस्दा उसैले जिम्मेवारी लिनुपर्छ, उनले भने–‘यो जित मेरो मात्र होइन सम्पूर्ण काँग्रेस जन–जनको हो ।


