१४ मंसिर २०८३, आईतवार

सर्लाहीमा भारतले ७.८३ मिलियन लागतमा बनाइदियो भव्य विद्यालय भवन, लालबन्दीमा खुशियाली

एसीपी संवाददाता

३० जेष्ठ २०७९, सोमबार ०१:३४ मा प्रकाशित

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता माध्यामिक विद्यालयको दुईतले भवनको उद्घाटन गरिएको छ ।

मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले शनिबार विद्यालयको दुई तल्ले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनतालगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । ७.८३ मिलियन लागतमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “आजादीका अमृत महोत्सव”अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक भएको दूतावासले जनाएको छ ।

नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधासहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

यो परियोजना भारत र नेपाल बीचको विविध क्षेत्रहरूमा बहुआयामिक, बलियो र दृढ विकास साझेदारीको प्रमाण भएको दूतावासले उल्लेख गरेको छ । ‘निकट छिमेकीको रूपमा, भारत र नेपालले व्यापक र बहु-क्षेत्रीय सहयोग साझा गर्दछ ।

यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारसँग नेपालको सामाजिक-आर्थिक विकास र यसको भौतिक पुर्वाधार, विशेषगरी शिक्षा क्षेत्रको विकासमा सहयोग जारी राख्ने भारत सरकारको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x