१४ मंसिर २०८३, आईतवार

सत्ता भत्काउने खेलमा एमाले

एसीपी संवाददाता

३० जेष्ठ २०७९, सोमबार १३:४३ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बीच प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, एमसीसीमा अमेरिकी चासो र आगामी निर्वाचनमा हुनसक्ने गठबन्धनका विषयमा छलफल भएको छ ।

आइतबार अबेर ओली निवास बालकोटमा भएको दुई घन्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका विषयमा चासो राखेर कुरा अगाडि बढाएको बताइएको छ । उनले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट प्राप्त अनुभव र आगामी गठबन्धनको रणनीतिका विषयमा बढी चासो दिएका थिए ।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईका अनुसार दुई नेताबीच छलफल भयो तर, भित्र के कुरा भए जानकारी भएन । माओवादी नेता श्रेष्ठले एमसीसीमा एमालेको सहयोग आवश्यक हुने बताएका थिए ।

उनले ओलीसमक्ष प्रधानमन्त्री एमसीसीकै विषयमा थप निर्णय गर्न अमेरिका जान लागेको, अमेरिकाले १२ बुँदे पत्र नस्वीकारेको भन्दै अमेरिकी प्रतिनिधिहरुको बाक्लो भ्रमणले नेपालको परराष्ट्र नीतिमा असर पारेको गुनासो गरेको बताइन्छ ।

साे अवसरमा उनीहरूबीच बाम गठबन्धनको सम्भावनाबारे पनि कुराकानी भएको बताइएको छ । ओलीले विगतदेखिनै गठबन्धनका विषयमा विभिन्न चासो राख्दै आएका छन् । स्थानीय तहको निर्वाचनपछि ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् ।

नेताहरूका अनुसार ओलीको दोस्रो रणनीति अहिलेको गठबन्धन भत्काएर निर्वाचनमा जाने छ । एमाले उच्च स्रोतका अनुसार ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईलाई समेत सन्देश दिएका छन् ।

अहिले नै दाहाल र नेपाललाई फकाउन नसकिए पनि एकीकृत समाजवादीका झलनाथ खनाल, जनता समाजवादीका भट्टराई र माओवादीका नारायणकाजी श्रेष्ठलाई फकाउन ओलीको प्रयत्न छ, तर उनको प्रयास अर्थपूर्ण बन्न नसकेको एमाले नेताहरूकै भनाइ छ । नेपालबहस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x