उपेन्द्रलाई उमाशंकरको काउन्टर, ‘मधेसको मसिहा भन्नेहरु सरकारमा हुँदा मधेशी र थारुमाथि यति ठूलो विभेद?
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले मधेसको मसिहा दाबी गर्नेहरु नै सरकारमा सहभागी भएका बेला मधेसी र थारुमाथि विभेद गरिएको आरोप लगाएका छन् ।
उपेन्द्र यादवको जसपातर्फ संकेत गर्दै सांसद अरगरियाले मसिहा दाबी गर्नेहरुकै सरकारले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर मधेशी र थारु माथिको विभेद गरेको बताएका हुन् । संसद् बैठकको शून्य समयमा बोल्दै उनले लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेर विभेद गरेको गुनासो गरे ।
‘मधेश थाररुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक पटक हामी आवाज उठाइरहेको छौँ,’ उनले भने, ‘सभामुखले पटक–पटक रुलिङ गर्दा पनि सरकारले सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद हो ।’
उनले आफूलाई मधेशीको मसिया भन्ने पार्टीहरू पनि सरकारमा हुँदा समेत प्रतिवदेन नभएको भन्दै व्यंग्य समेत गरे । उनले सरकारसँग उक्त प्रतिवेदन सार्वजनिक माग राखे ।
‘मधेश र मधेशीसँग लभ भएको पार्टी यही छ,’ उनले भने, ‘आफूलाई मधेशको मसिया भन्ने पार्टी पनि यही सरकारमा छ । मधेशलाई बलियो संगठन भन्ने पार्टीको सरकारको नेतृत्वमै छ । तर मधेश थारुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यसैले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दछु ।’



