फास्ट ट्र्याक’ बाट नागरिकता विधेयक
काठमाडौं- चार वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको नागरिकता विधेयक फिर्ता लिने सरकारले गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ‘सहमति’ जुट्न नसकेको भन्दै विधेयक फिर्ता लिने निर्णय ग¥यो।
नागरिकता ऐन २०६३, संशोधन गर्न तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो। प्रतिनिधिसभाको सुशासन समितिमा छलफल भएर झन्डै २२ महिना विधेयक त्यहीँ अड्कियो। २२ महिनाको छलफलपछि समितिले प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पठायो।
विधेयकका अन्य कुराहरूमा दलहरूबीच सहमति जुटे पनि वैवाहिक अंगीकृत नागरिकताका विषयमा विवाद रह्यो।
समितिले दिएको प्रतिवेदनमा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने व्यवस्था कानुनमा गर्नुपर्ने सुझाव दिएको छ।
समितिको यसै व्यवस्थाप्रति कांग्रेस, जसपा र लोसपाको असहमति देखिएको छ। जबकि प्रमुख प्रतिपक्षी दल एमालेको भने निश्चित अवधिपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्नेमा जोड छ।
वैवाहिक अंगीकृतको त्यो व्यवस्थाप्रति दलहरूबीच सहमति जुट्न नसकेपछि सरकार प्रतिनिधिसभाबाट विधेयक फिर्ता लिने निर्णयमा पुगेको हो।
प्रतिपक्षमा छँदा एमालेले नागरिकता विधेयकको विरोध गर्दै आएको थियो। सरकारले विधेयकलाई संसदमा छलफलका लागि लैजान खोज्दा एमालेका नेताहरू त्यसको विरोधमा देखिए।
करिब ३ वर्ष सरकारमा छँदा तत्कालीन सरकारले छलफलका लागि विधेयक संसदमा प्रस्तुत गरेन। बरू मधेस केन्द्रित दलको समर्थन जुटाउन प्रतिनिधिसभा विघटन भएको भोलिपल्ट अध्यादेशमार्फत नागरिकता विधेयक अगाडि बढायो, ओली सरकारले।
जसपाभित्र विवाद उत्कर्षमा पुगेको बेला जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुर पक्षको मागअनुसार ओलीले नागरिकतासम्बन्धी अध्यादेश ल्याए। यद्यपि सर्वोच्च अदालतको आदेशपछि अध्यादेश कार्यान्वयनमा आउनसकेन।
यसबीचमा सरकारले त्यही विधेयक अघि बढाउने प्रयास ग¥यो। सबै दलको सहमति कायम गरेर संसदबाट विधेयक पारित गराउने सरकारको प्रयास थियो।
यसका लागि गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्मा (कोइराला) ले दौडधुप पनि गरे। तर, एमाले साथ दिन तयार भएन।
नेपालको संविधान २०७२, ले नागरिकता पाउने योग्यता निर्धारण गरेको छ। संविधानको धारा ११(३) मा जन्मसिद्ध नागरिकतासम्बन्धी व्यवस्था छ।
‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ धारा ११(३) मा भनिएको छ।
संविधानले आमाको नामबाट पनि नागरिकता पाइने व्यवस्था गरेको छ। ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ,’ धारा ११(५) मा उल्लेख छ।
कानुनको अभावमा कैयौं योग्य नेपाली नागरिकले आमाको नाउँबाट नागरिकता पाउन सकिरहेका छैनन्।
संविधानले नै व्यवस्था गरिदिए पनि वैवाहिक अंगीकृत नागरिकतासम्बन्धमा देखिएको असहमतिका कारण संसदबाट विधेयक पारित हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरिकता पाउनेहरू बञ्चित भएका छन्।
सरकार अब नागरिकतासम्बन्धी अर्को विधेयक ल्याउने तयारीमा छ। यसअघि विवादित भएका विषय हटाएर विधेयक ल्याउने तयारी सरकारको छ।
‘यसमा सहमति नै जुट्न सकेन, नागरिकता जस्तो विषयमा देश विभाजित हुनुुहुन्छ र?,’ कानुनमन्त्री शर्मा भन्छन्,‘त्यसैले सहमति हुने कुरा राखेरमात्रै ल्याउने, विवादित कुरालाई हटाएर विधेयक आउँछ।’
विवादित विषय हटाएर आउने अबको विधेयकमा सम्भवतः वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था हटाइने छ। किनभने यसअघिको विधेयकमा यही विषय सबैभन्दा बढी विवादित बनेको थियो।
नागरिकता विधेयक ल्याउन सबैभन्दा बढी जोड दिइरहेको लोसपा पनि सहमत यसप्रति सहमत देखिन्छ।
‘विवादित विषय हटाएर ल्याइने विधेयकमा हाम्रो सहमति छ,’ लोसपाका एक नेताले भने,‘वैवाहिक अंगीकृतबारे सबैभन्दा बढी विवाद देखिएको छ। त्यसलाई हटाएर ल्याउँदा हाम्रो कुनै विरोध रहँदैन।’
त्यो प्रावधान हटेपछि अहिले कायम व्यवस्थाअनुसार नै वैवाहिक अंगीकृत नागरिकता पाउन सकिने उनको तर्क छ।
पाँचदलीय सत्ता गठबन्धन र नागरिकता विधेयक ल्याउन सबैभन्दा बढी जोड दिइरहेको लोसपा तयार भएपछि सरकारले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक ल्याउने बुझिएको छ।
संसदमा विधेयक ल्याएर ‘फास्ट ट्र्याक’ बाट पारित गराइ नागरिकतासम्बन्धी समस्या अन्त्य गर्ने तयारी सरकारको छ।
वन तथा वातावरणमन्त्री प्रदीप यादवले संसदमा पेस हुने नयाँ नागरिकता विधेयक फास्ट ट्र्याकबाट पारित हुने बताए। संसदमा पेश हुने नयाँ विधेयक सर्वसम्मतिबाट पारित हुने उनको विश्वास छ।
सरकारले संसदमा चाँडै नागरिकता विधेयक पेस गर्दैछ, पेस हुने विधेयक फास्ट ट्र्याकबाट पारित हुन्छ,’ यादवले भने,‘जन्मसिद्धका छोराछोरी अनागरिक भएर बाँच्नु परिरहेको छ। त्यसकारण पनि यसलाई सक्दो चाँडै पारित गर्नुपर्ने छ।’
संशोधन गरेर अर्को विधेयक ल्याउन सत्ता गठबन्धन एकै ठाउँमा उभिएको कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बताए। उनकाअनुसार शुक्रबारको बैठकमा विधेयक पेस हुनेछ।
‘विधेयकको सम्बन्धमा गठबन्धन एकै ठाउँमा छ, शुक्रबारको प्रतिनिधिसभा बैठकमा विधेय पेश हुने जानकारी पाएको छु,’ उनले भने,‘सर्वदलीय सहमतिका लागि शीर्ष नेताहरू कोसिस गरिरहनु भएको छ।’
लोसपाका नेता राजेन्द्र महतोले पनि शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक पेश हुने जानकारी आफूले पाएको बताए।
नयाँ नागरिकतासम्बन्धी विधेयकले संवैधानिक व्यवस्थाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने व्यवस्था गर्ने उनले बताए।


