संसदमा नयाँ नागरिकता विधेयक लैजाने, पुरानो फिर्ता
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले ३४ वटा बैठक बसेर दुई वर्षसम्म छलफल गरी प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ नाम दिई पेस गरेको थियो। गृहमन्त्री बालकृष्ण खाँणले विधेयक फिर्ता लिन राखेको प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले विरोधको सूचना दर्ता गरे पनि त्यसलाई बहुमतले अस्वीकृत गरिएको थियो।
प्रतिनिधिसभा सचिवालयमा २०७५ साउन २२ गते दर्ता भएको यो विधेयक साउन २८ गते प्रतिनिसभा बैठकमा प्रस्तुत भएको थियो। २०७५ साउन २९ गते सो विधेयकमा सैद्धान्तिक छलफल भएको थियो।
संशोधन प्रस्तावमाथि थुप्रै प्रस्ताव आएपछि यसलाई राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको थियो। समितिमा २०७५ भदौ ५ गतेदेखि दफावार छलफल भएको थियो भने २०७७ असार ९ गते समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो। त्यसपछि यसलाई अघि नबढाइकनै शुक्रबार विधेयक फिर्ता लिइएको छ। मन्त्रिपरिषद्को असार २१ गतेको बैठकले नागरिकता विधेयक फिर्ता लिने स्वीकृति दिएको थियो। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम १२१ को नियम ३ बमोजिम गृहमन्त्री खाँणले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए। यसलाई विरोध गर्दै एमालेका भीम रावलले सर्वाधिक छलफल भएको नागरिकता विधेयकलाई राजनीतिक स्वार्थको हतियार नबनाउन आग्रह गरे।
विदेशीलाई नागरिकता लिन सहज बनाएर नेपालको राष्ट्रिय सुरक्षा संकटमा पार्ने काम किमार्थ स्वीकार्य नहुने उनले बताए। निर्वाचनको मुखमा यो कामचलाउ सरकार भएकाले विधेयक फिर्ता लिने काम गर्नु गलत भएको बताए। उनले विदेशीले सहजै नागरिकता पाउने अवस्था नगर्न आग्रह गरे।
एमाले सांसद कृष्णभक्त पोखरेलले समितिमा वर्षौंसम्म छलफल गरेर पारित गर्ने बिन्दुमा पुगेको विधेयकलाई फिर्ता लिएर सरकारले संसदीय प्रणालीमाथि नै चुनौती दिएको बताए। उनले नागरिकले नागरिकता पाउने अधिकारबाट कुण्ठित नगर्न पनि आग्रह गरे। एमाले सांसद शेरबहादुर तामाङले प्रतिनिधिसभाको टेबुलमा आएर पारित गर्ने प्रक्रियामा पुगेको नागरिकता विधेयकलाई फिर्ता लिनु भनेको नागरिकता कानुनको भ्रूण हत्या भएको बताए।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बसको वा सिनेमाको टिकट जसरी नागरिकता बाँड्ने होइन भन्दै २० वर्ष नेपाल बसोबास गरेर संस्कृतिको विषयमा परीक्षा दिएपछि उत्तीर्ण हुनेलाई मात्र नागरिकता दिनुपर्ने व्यवस्था राख्नुपर्ने बताए।
एमाले सांसद विद्या भट्टराईले सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले नागरिकता दिँदा कडाइ गर्नुपर्ने बताइन्। गृहमन्त्री बालकृष्ण खाँणले फिर्ता लिएपछि तुरुन्तै नागरिकता विधेयक ल्याइने बताए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले दलहरूबीच सहमति गरेर नयाँ विधेयक ल्याउने बताए। नागरिकन्युज


