नेपाली सिमेन्टका लागि भारतीय बजार , मासिक ५ लाख बोरा सिमेन्ट खपत
काठमाडौं। पाल्पा सिमेन्टले महिनाको डेढ लाख बोरा सिमेन्ट निकासी गर्ने भएको छ। एक साता अघि तीन ट्रक सिमेन्ट औपचारिक निकासी गरेको यो उद्योगले सुरुवातमा महिनाको डेढ लाख र यसलाई बढाएर पाँच लाख बोरा पुर्याउने लक्ष्य लिएको छ।
मनसुनका कारण भारतमा अहिले सिमेन्टको डिमान्ड कम छ। त्यसैले हामीले डेढ लाख बोरा मात्रै निकासी हुने देखेका छौं,’ आरएमएसी समूहका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बिजमाण्डूसँग भने, ‘केही समयभित्रै पाँच लाख बोरा निकासी गर्नेछौं।’
उनका अनुसार अहिले भारतका विभिन्न स्थानमा आफ्नो कम्पनीका प्रतिनिधिले बजार अध्ययनसँगै ब्राण्डिङ समेत गरिरहेका छन्।
‘सीमावर्ती बजारमा नेपाली सिमेन्ट सम्भावना राम्रो देखेका छौं। विदेशी मुद्रा सञ्चिति घटेर मुलुक नै संकटमा परेका बेला सिमेन्ट निकासी एउटा राम्रो सम्भावना भएको वस्तुभित्र पर्न थालेको छ,’ उनले भने, ‘सरकारले नगद अनुदान सम्बन्धी कार्यविधि ल्याएपछि निकासीलाई अझ बल पुग्ने हामीले विश्वास लिएका छौं।’
उद्योगले एक महिना अघि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) पाएपछि निकासी सुरु गरेको थियो। उद्योगले तानसेन ब्राण्डको पीपीसी सिमेन्ट निकासी गरेको थियो। भारतीय बजारमा ब्राण्डेड र नन ब्राण्डेड गरि दुई थरी सिमेन्ट बिक्री वितरण हुँदै आएको छ।
उद्योगले अहिले कम मूल्यबाट बिक्री सुरु गरेको थियो। भारतको उत्तर प्रदेश र बिहारमा सिमेन्ट उद्योग नभएकाले नेपाली सिमेन्टको ठूलो बजार छ। उत्तर प्रदेश र बिहारको १ सय किलोमिटर भन्दा पर मात्रै सिमेन्ट उद्योग भएकाले ढुवानी भाडा लगभग उस्तै पर्न जाने आकलन छ।
त्यही आधारमा नेपाली सिमेन्टको बजार राम्रो देखिएको हो। उद्योगीका अनुसार वर्षमा डेढ खर्बसम्मको सिमेन्ट निकासी गर्न सकिन्छ।


